
काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट नगरेको प्रष्ट पारेका छन् । साथै उनले ज्ञानेन्द्र शाहलाई भेटेको कुरा पुष्टि गरेर देखाउन पनि सञ्चारमाध्यमलाई चुनौती दिएका छन् ।
केही दिनअघि आफ्ना सहयोगी लोकेन्द्र केसीमार्फत् फेसबुकमा लेखेर फोटो समेत सार्वजनिक गरेका उपप्रधानमन्त्री पोखरेलले आफैँ ट्वीट गरेर राजा भेटेको पुष्टि गर्न चुनौती दिएका हुन् ।
‘निर्मल निवासमा पूर्व राजा ज्ञानेन्द्र शाहसित मैले भेट गरेको र षड्यन्त्रका तानाबाना बुनेको सनसनीख़ेज़ र शतप्रतिशत गलत समाचार छाप्ने केही ठूला छापाहरू, अनलाइनहरू तथा त्यसैमा केन्द्रित रही विश्लेषण गर्ने विश्लेषकहरूप्रति खेद व्यक्त गर्दछु । पुष्टि गर, नभए नैतिकता छ भने क्षमायाचना गर !, पाेखरेलले लेखेका छन् ।
उनका निजी सचिवालयमा कार्यरत लोकेन्द्र केसीले सामाजिक सञ्जाल (फेसबुक) मा नेपाल ट्रष्टको सम्पत्ति निरीक्षण गर्न गएको फोटो सार्वजनिक गर्दै साउन २० गते लेखेका थिए, ‘नेपाल ट्रस्ट अन्तर्गतको स्व. राजा वीरेन्द्रको नाममा रहेको सम्पत्तिको स्थलगत निरीक्षण गर्न ट्रस्टका अध्यक्ष समेत रहनुभएका कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल गत शुक्रबार महाराजगञ्ज (निर्मल निवासको पश्चिमपट्टि सशस्त्र प्रहरी बसेको क्षेत्र), लाजिम्पाट, टेकु, सोल्टीमोड र छाउनी पुग्नुभएको सत्य हो ! तर, मनगढ़न्ते कहानी लेख्न चाहनेका लागि जे लेख्दा पनि हुन्छ ? यथार्थ हुनुपर्छ कि पर्दैन ?’
निर्मल निवासमा पूर्व राजा ज्ञानेन्द्र शाहसित मैले भेट गरेको र षडयन्त्रका तानाबाना बुनेको सनसनीख़ेज़ र शतप्रतिशत गलत समाचार छाप्ने केही ठूला छापाहरू , अनलाइनहरू तथा त्यसैमा केन्द्रीत रही विश्लेषण गर्ने विश्लेषकहरू प्रति खेद व्यक्तगर्दछु।पुष्टी गर नभए नैतिकता छ भने क्षमायाचना गर !
गत शुक्रवार कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल नेपाल ट्रस्ट अन्तर्गतको स्वर्गीय राजा वीरेन्द्रको नाममा रहेको सम्पत्तिबारे बुझ्न निर्मल निवास क्षेत्रमा पुगेका थिए । नेपाल ट्रष्टका कर्मचारीको टोलीले उनलाई भेट्न टोखामा पुगेका थिए ।
ट्रस्टका अध्यक्ष समेत रहेका पोखरेलसहितको कर्मचारीहरुको टोली र सुरक्षा निकायका प्रतिनीधिले ट्रष्टको सम्पत्तिको निरीक्षणका लागि महाराजगन्जस्थित निर्मल निवासको पश्चिमतर्फ सशस्त्र प्रहरी बल बसेको क्षेत्र, लाजिम्पाट, टेकु, सोल्टीमोड र छाउनी लगायत विभिन्न ७ स्थानका ट्रष्टको सम्पत्ति अवलोकन गरेका थिए ।
बिहान ८ बजेबाट निरीक्षणमा निस्किएको टोली ११ बजे टेकुमा खाना खाएर छुटिएको थियो । यो टोली निर्मल निवासक्षेत्रमा करिब एक घण्टा रहेको बताइएको छ । पूर्वराजाको सम्पत्ति ट्रष्टको नाममा आएपछि अध्यक्षले नै निरीक्षण गरेको पहिलो पटक थियो ।
नेपाल ट्रस्टका सदस्य सचिव राजेश्वर ज्ञवालीले समेत ज्ञानेन्द्रको निजी निवास, निर्मलनिवास नजिकको ट्रष्टको सम्पत्ति रहेको क्षेत्रमा रक्षामन्त्रीको भ्रमणबारे प्रष्ट्याइसकेका थिए ।
पोखरेलसहितको टोली निर्मल निवासक्षेत्रबाट निस्किएलगत्तै पूर्वराजा ज्ञानेन्द्रसँग भेट गरेको भनेर समाचार सार्वजनिक भएका थिए ।
नेकपाभित्रको साविक माओवादी धारले पोखरेलले पूर्वराजा ज्ञानेन्द्र भेटेको विश्वास गर्दै यसप्रति कडा प्रतिवादमा उत्रेका थिए । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त पूर्वराजा ज्ञानेन्द्रलाई विगतमा गणतन्त्र स्वीकारेकाले शरण दिएको बताउँदै अब चलखेल गर्न खोजेमा नागार्जुन दरबारबाट निकाल्ने धम्की समेत दिएका थिए ।