नियमित स्वास्थ्य परीक्षण गराउने गर्भवतीलाई गाउँपालिका कार्यालयको अण्डा उपहार

इनरूवा । सुनसरीको बर्जु गाउँपालिकाको कार्यालयले गर्भवती महिलाहरुलाई लक्षित गरी अण्डा उपहार कार्यक्रम संचालनमा ल्याउन लागेको छ ।

नियमित रुपमा स्वास्थ्य परीक्षण गराउने बानीको बिकास गराउन गर्भवती महिलाका लागि अण्डा उपहार कार्यक्रम प्रभावकारी ठहरिने गाउँपालिका कार्यालयको ठहर छ । गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरीले नियमित स्वास्थ्य जाँच गराउने बानी बसाल्न प्रोत्साहन स्वरुप उक्त कार्यक्रम संचालनमा ल्याउन लागिएको जानकारी दिए ।

अभियान संचालनमा आएपछि स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्थामा पुग्ने गर्भवती महिलाको संख्या बढ्ने समेत अनुमान गरिएको छ ।

गर्भवती र सुत्केरी अवस्थामा सानो असावधानीले ठूलो दुर्घटना निम्तन सक्ने भएकाले सम्भाावित भवितब्यबाट आमा र बच्चालाई जोगाउन समेत गाउँपालिकाले चाल्न लागेको अभियान प्रभावकारी बन्ने गाउँपालिका अध्यक्ष चौधरीको विश्वास छ ।

गर्भवती महिलाहरुकालागि नियमित स्वास्थ्य परीक्षण गराउन आउने वातावरण सृजना गर्नकालागि अण्डा तथा फलफूल उपहार कार्यक्रम लागु गर्न लागिएको बर्जु गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले बताए ।

मेहताका अनुसार समाजमा अझैपनि कतिपय महिलाहरु खुलेर परीक्षणकालागि स्वास्थ्य संस्थामा पुग्ने गरेका छैनन् । स्वास्थ्यमा सबैको समान पहुँच र नियमित चेकजाँच गराउने बानीको बिकास गर्न गर्भवति महिला लक्षित कार्यक्रम अघि सारिएको मेहताले बताए ।

गाउँपालिकाको कार्यालयले दिएको जानकारी अनुसार स्वास्थ्य परीक्षणकालागि पुग्ने गर्भवती महिलाले एक पटकमा एक क्यारेट अण्डा वा फलफूल सहित हर्लिक्स जस्ता आहार प्राप्त गर्ने छिन् ।

पौष्टिक आहारले आमा र बच्चा दुवै स्वस्थ र तन्दुरुस्त हुने भएकाले जन्मिने बालबालिकामा कुपोषणको सम्भावना समेत नरहने गाउँपालिकाको विश्वास छ ।

गाउँँपालिकाका हरेक वडाहरुमा दलित तथा विपन्न समूदायको बाक्लो बसोबास रहिआएको छ । बर्जु गाउँपालिका भारतीय सीमासँग जोडिएको सुनसरीको दक्षिणवर्ती विकट क्षेत्रका रुपमा लिइन्छ । स्वयं गाउँपालिकाको कार्यालयले समेत गाउँवासीको जीवनस्तर उकास्न र पूर्वाधार बिकासमा वषौं पछि परेको क्षेत्र भएकाले आशातित उपलब्धी हात पार्न अझै निकै समय लाग्ने बताउँदै आएको छ ।