चितवन । चितवनको नारायणी नदीमा नेपालकै पहिलो सिग्नेचर ब्रिज बन्ने निश्चित भएको छ ।

चिनियाँ प्राविधिकको सहयोगमा सर्भे गरेर चितवन र नवलपरासीको गैंडाकोट जोड्ने नारायणी नदीमा सिग्नेचर ब्रिज बनाउने निर्णय भएको पुल महाशाखा प्रमुख दिपक भट्रराईले जानकारी दिए। उनका अनुसार चिनियाँ डा चेन सहितका प्राविधिक झिकाएर डिजाईन तयार पारिनेछ।

महाशाखाले विभिन्न १० स्थानमा सिग्नेचर ब्रिज बनाउने लक्ष्य राखेको छ। चारवटा पुलको डिजाईन यहि आर्थिक बर्षमा तयार पार्ने लक्ष्य लिइएको छ। अहिले ती पुल बन्ने ठाउँहरु पहिचान भैरहेको छ।

पहिलो चरणमा रौतहटको बागमती, स्याङजाको तिनाउ, काठमाडौंको टेकु/शंखमुल लगायतका स्थानहरु पहिचान गरिएको छ। पहिचान भैरहेको भएपनि निर्णय हुन भने बाँकी छ। आगामी बर्ष  ६ वटा पुलको डिजाइनसंगै चारवटाको निर्माण सुरु गरिने भट्टराईले जानकारी दिए।

महाशाखाले तयार पारेको सर्भे रिपोर्ट अनुसार नारायणी नदीमा निर्माण गर्न लागिएको पुल करिव पाँच सय मिटर लम्बाइको हुने छ। डबल लेनमा निर्माण हुने यो पुल भने एक अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

विश्व बैंकको सहयोगमा डिजाईन गर्न लागिएको महाशाखाले जनाएको छ। यस अघि नै विश्व बैंकसँग सम्झौता भएर सर्भे र डिजाईन गर्न लागिएको हो। डिजाईन तयार भएपछि लगानीबारे टुङगो लाग्ने छ।

सिग्नेचर ब्रिज सामान्य पुल भन्दा फरक खालका हुन्छ। विशेष कलात्मक हुन्। सामान्य मोटरेवल पुल जस्तै भएपनि आकर्षक र नयाँ प्रविधि प्रयोग गर्दै निर्माण गरिन्छ। यो झट्ट हेर्दा झण्डैं नेटवर्क आर्क ब्रिज जस्ता देखिन्छन्। तर यस्ता पुललाई आर्क भन्दा अझ आकर्षक मानिन्छ।

पुलमा लाईटहरु जडान गरिएको हुनेछ जसका कारण रातमा समेत जीवन्त देखिन्छ। युरोपमा यी प्रविधिका पुलहरु अत्यन्तै धेरै देख्न पाईन्छ । पर्यटक र शहरी सौन्दर्यका हिसावले पनि यस्ता पुललाई महत्वपुर्ण मानिन्छन् ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले उपत्यकामा अब बन्ने नयाँ पुलहरु सिग्नेचर ब्रिज मात्रै हुने बताउँदै आएका छन्। उनले अहिले बनेका पुलहरु समेत आकर्षक बनाउने योजना रहेको बताएका छन्। साथै महासेठले उपत्यकामा बन्ने ओरहेड ब्रिज समेत मोर्डन बनाउने योजनाका साथ काम भैरहेको बताउँदै आएका छन्।

यो बर्ष तीन सय पुल निर्माण गर्ने लक्ष्य

पुल महाशाखा प्रमुख भट्टराईले आर्थिक बर्ष २०७५/७६ मा साना र  ठूला गरी २ सय ४३ पुल निर्माण भएको दाबी गरेका छन्। चालु आर्थिक बर्षमा तीन सय पुल निर्माण गर्ने लक्ष्य महाशाखाको छ। यस अघि वार्षिक औसतमा सय हाराहारी पुल निर्माण हुने गरेको थियो।

अहिले देशभर करिव १ हजार ५ सय पुलहरु निर्माणाधीन अवस्थामा छन्। बजेट सुनिश्चितता नभै धेरै पुलहरु ठेक्का लागेका कारण यो बर्ष नयाँ पुलको ठेक्का लगाउन नसकिएको भट्टराईले जानकारी दिए। सडक विभागले एउटा कमिटी नै बनाएर अध्ययन गर्न लागेको छ।

अहिले कतिपय पुलहरु ठेकेदार कम्पनीको लापरबाहीका कारण अघि बढ्न सकेका छैन । बनिसकेका पुलहरु पनि गुणस्तर नभएको भन्दै भत्काउनुपर्ने अवस्था आएको छ। कतिपयमा डिजाईनमै डिफेक्ट आएका कारण निर्माण कार्य रोकिएका छन्।

देशभरका सबै समस्या भएका पुलहरुको तथ्याङक संकलन गरेर के कति समस्या रहेका छन् पहिचान गरेर समाधान गर्दै अघि बढ्ने योजनामा महाशाखा रहेको छ।

‘कसको कमजोरी हो पहिचान गर्छौ । कारबाही गर्ने, ठेक्का तोड्ने, डिजाईन परिवर्तन गर्ने के गर्न हो गर्छौ ।’ महाशाखा प्रमुख भट्टराईले भने ‘पुलका आयोजना अब अलपत्र हुँदैनन् ।’

 

प्रतिक्रिया दिनुहोस !