सुनको मूल्यले दैनिक बनाउँदैछ रेकर्ड, तोलाकै ६८ हजार पुग्यो, पाँच दिनमा २५ सय रुपैयाँ बढ्यो

काठमाडौँ । लगातार पाँच दिन देखि बढिरहेको सुनको मूल्यले मंगलवार पनि नयाँ रेकर्ड कायम गरेको छ। मंगलवार सुनको मूल्य प्रति तोला दुई सय रुपैयाँ बढेर ६८ हजार रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले स्थानीय बजारमा नयाँ रेकर्ड कायम भएको हो। पाँच दिनमा सुनको मूल्य प्रति तोला २५ सय रुपैयाँ वृद्धि भएको छ।

सोमबार मात्रै सुनको मूल्य तोलाकै १५ सय रुपैयाँ बढेको थियो।अमेरिका र चीनबीचको व्यापार युद्धसँगै अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर कटौंती गरेपछि सुनको मूल्य उकालो लागेको हो।ब्याजदर घटेपछि लगानीकर्ता सुनतर्फ आकर्षित भएका कारण मूल्य बढेको हो।

चाँदीको मूल्यमा भने  कुनै परिवर्तन भएको छैन। सुनको मूल्यमा लगातार वृद्धि भएपछि बजारमा माग भने ७५ प्रतिशतले घटेको छ।