
चितवन । बैंकहरुले आफ्नो डुबेको ऋण उठाउन भृकुटी कागज कारखानाको जग्गा बिक्री गर्ने योजना अगाडि बढाएका छन्। नेपाल बैंकको नेतृत्वमा राष्ट्रिय बाणिज्य बैंक (मर्ज भएको एनआइडिसीसहित) र कर्मचारी सञ्चय कोषले कारखानालाई ऋण दिएका थिए।
कारखानाले ऋण तिर्न नसकेपछि बैंकको पैसा डुबेको छ। डुबेको पैसा उठाउनका लागि बैंकहरुले ‘खरीदकर्ता खोज्दै ऋण उठाउने’ रणनीति बनाएका छन्। यस बारेमा उद्योगका प्रबर्द्धकहरुसँग छलफल भइसकेको छ।
नेपाल बैंकले कारखानाको निश्चित क्षेत्रहरु बिक्री गर्न खरीदकर्ता पनि खोज्न थालिसकेको छ। बैंकले सुरुमा पछाडिको भाग बिक्री गर्ने छ। पछाडिबाट बेचेपछि जबसम्म पैसा उठ्दैन त्यतिबेलासम्म जग्गा बिक्री गर्दै लैजाने बैंक ब्यवस्थापनले जानकारी दिएको छ।
‘हामी यही साउनमै केही पैसा उठाउने भनेर लागिपरेका छौं’ बैंक सञ्चालक समिति अध्यक्ष बासुदेव अधिकारीले बिजमाण्डूसँग भने, ‘अब हामी डुबेको ऋणलाई लामोसमय राख्ने पक्षमा छैनौं। जसरी हुन्छ पैसा उठाएरै छाड्ने निर्णयमा हामी पुगेका छौं।’
कारखानाले साँवा मात्र ७५ करोड रुपैयाँभन्दा बढि तिर्न बाँकी छ। ब्याज र जरिवानासमेत गर्दा त्यो साढे तीन अर्ब पुगिसकेको।
‘अब उद्योग सँधैका लागि बन्द गर्ने अनि ऋण उठाउने भन्ने निर्णयमा पुगेपछि केही ब्याज र जरिवाना छुट दिनु पर्ने हुन्छ’ अधिकारीले भने, ‘त्यसैले साँवा मात्रै उठ्यो भने पनि हाम्रा लागि ठूलो उपलब्ध हुने छ।’ उनका अनुसार ऋण पुनर्संरचना गर्नु परेको भए मात्र ब्याज र जरिवाना पनि असुल गर्नु पर्ने हुन्थ्यो।
निजीकरणपछि कारखाना गोल्छा, काभरा र कन्क्राफ्ट समूहले लिएको थियो। ६० बिघा क्षेत्रफलमा फैलिएको उद्योग प्रतिस्पर्धी हुन नसकेपछि बन्द भएको थियो।