नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीको बन्दको प्रभावः आगजनी र तोडफोडका विभिन्न घटना

हेटाैँडा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मकवानपुरमा दुईवटा गाडीमा आगजनी गरेका छन् ।

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मंगलबार राति फाखेल हुमाने भन्ज्याङमा बा १४ च ८२३४ नम्बरको कार जलाएका छन् ।

मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा ५ ख १७३९ नम्बरको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।

आगजनीपछि कार पूर्ण रुपमा जलेको छ भने ट्रकको अगाडिको भाग मात्र जलेको प्रहरीले जनाएको छ ।

विप्लव नेतृत्वको नेकपाले आफ्ना नेता तथा कार्यकर्तालाई सरकारले पक्राउ गर्ने क्रमलाई नरोकेको भन्दै मध्य कमाण्ड बन्दको घोषणा गरिएको विप्लव नेतृत्वको नेकपाका मकवानपुरका सेक्रेटरी अनुरागले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

………….

बागमती, नारायणी र जनकपुर बन्दको आंशिक प्रभाव

काठमाडौं। सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आह्वान गरेको बागमती, नारायणी र जनकपुर बन्दको आंशिक प्रभाव परेको छ। राजधानी काठमाडौंमा पनि बन्दको आंशिक प्रभाव परेको छ। राजधानीका अधिकांश स्कुल, कलेज बन्द गरिएको छ।

सार्वजनिक सवारीका साधन भने उल्लेख्य मात्रामा संचालन भइरहेका छन्। राजधानीका मुख्य सडक र चोकमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

विप्लव समूहले आफ्ना नेता उपत्यका ब्युरो इन्चार्ज तथा सांस्कृतिक मोर्चाका इन्चार्ज माइला लामा पक्राउको विरोधमा बागमती, नारयण र जनकपुर बन्दको आह्वान गरेको थियो।

……….

सिन्धुपाल्चोक, नुवाकोट र रौतहटका वडाका कार्यालयमा आगजनी

सिन्धुपाल्चाेक, १५ साउन । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० को वडा कार्यालयमा आगजनी भएको छ । वडा कार्यालयमा नचिनेका मानिसको समूहले आगजनी गरेको हो ।

आगजनीबाट कार्यालयका महत्वपूर्ण कागजात जलेका छन् । यस्तै भौतिक क्षति भएको छ ।

यसैगरी नुवाकोटको ककनी गाउँपालिका–१ को कार्यालयमा नचिनेका मानिसको समूहले मंगलबार राति बम बिस्फोट गराएको छ । बिस्फोटका कारण कार्यालयमा क्षति पुगेको छ ।

यस्तै रौतहटको चन्दपुर नगरपालिकाको गैँडाटार वडा कार्यालयमा मंगलबार राति आगजनी भएको छ । आगजनीका कारण कार्यालयमा क्षति भएको छ । आगजनी तथा बिस्फोटको जिम्मा कसैले लिएका छैनन् ।

……….

विप्लव समूहको काठमाडौँ जिल्ला सेक्रेटरी पक्राउ

काठमाडौँ। प्रहरीले नेत्रविक्रम चन्द्र विप्लव समूहको काठमाडौँ जिल्ला सेक्रेटरी धीरेन्द्रा उपाध्ययलाई आज पक्राउ गरेको छ ।

पूर्व सांसदसमेत रहेकी उपाध्यायलाई आज दिउँसो काठमाडौँको कपनबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो ।

विप्लव समूहको गतिविधि नियन्त्रण गर्ने क्रममा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । उनी सोही समूहको महिला सङ्गठनकी महासचिवसमेत रहेको प्रहरीले जनाएको छ ।

एक हप्ताअघि मात्रै प्रहरीले उक्त समूहका उपत्यका इञ्चार्ज माइला लामालाई पक्राउ गरेको थियो । विप्लव समूहले विभिन्न स्थानमा आपराधिक गतिविधि गर्न थालेपछि फागुनको अन्तिम साता सरकारले विप्लव समूहले विध्वंशकारी क्रियाकलाप गरेको निष्कर्ष निकाल्दै उसका गतिविधिमाथि रोक लगाएको थियो ।

त्यसयता प्रहरीले विप्लव समूहका ६०० भन्दा बढी नेता–कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाएको छ ।

……..