प्रचण्डले भने : हेग लगे विश्वकै हिरो हुन्छु, संसारले एकैपटक चिन्छ (भिडियो सहित)

काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हेग (अन्तराष्ट्रिय अदालत) लगे आफू झन्  संसारमा परिचित हुने बताएका छन् ।

आज बिहान आफ्नै निवास खुमलटारमा विप्लव समूह छाडेर नेकपामा प्रवेश गर्ने कार्यकर्ताहरुलाई स्वागत गर्ने क्रममा अध्यक्ष प्रचण्डले आफूलाई केही फरक नपर्ने बताएका हुन् ।

‘मलाई हेग लगेर पनि केही फरक पर्दैन । त्यहाँ लगे भने विश्वकै हिरो भएर निस्किन्छु । संसारले मलाई एकैपटक चिन्छन्’,  प्रचण्डले भने,  ‘संसारभरिका जनताले यो शान्ति र न्यायको पक्षमा रहेछ भन्ने ठाउँ हुन्छ। त्यो मेरो लागि गर्वको कुरा हुन्छ ।’

उनले आफूहरुलाई हेग लैजाने र एक दिन भए पनि जेल हाल्ने भनेर गरिएको प्रचार डिजाइनअन्तर्गत भएको जिकिर गरे । केहिदिन अघि पूर्वबाल लडाकु लेलिन विष्ट लगायतले पत्रकार सम्मेलन गरेर प्रचण्ड र बाबुरामलाई तीन महिनाभित्र हेग लिने चेतावनी दिएका थिए । यसै विषयमा अध्यक्ष प्रचण्डको टिप्पणी आएको हो ।

अध्यक्ष प्रचण्डले परिवर्तनको नेतृत्व गरेका नेतालाई सिध्याउन पाए अहिलेको परिवर्तन उल्टाउन सकिन्छ कि भन्ने तत्वहरु लागिपरेको ठोकुवा पनि गरे  । दुईचार जनाले म क्रान्ति गर्छु भनेर लाग्दैमा क्रान्ति नहुने भन्दै दाहालले क्रान्ति भनेको लाखौं करोडौं जनताको काम भएको प्रष्ट पारे ।

जनताको व्यापक सहभागिता बिना क्रान्ति सार्थक नहुने भन्दै प्रचण्डले बिप्लव समुहको बाटो गलत रहेको प्रष्ट पार्नुभयो । उनले विप्लव पनि ढिलाेचाँडो पनि मूलधारमा आउने बताए । यदि उनी सच्चिएर नआए आफै सिद्धिने बताए ।

त्यस्तै, उनले शान्ति प्रक्रियामा नआएको भए आफूहरु लिट्टे बन्ने खतरा रहेको औंल्याए। नेपालमा आएको परिवर्तन हामी आफैंले ल्याएको उनको भनाइ छ। ‘अरु कसैले ल्याएको होइन’, उनले भने ।

प्राप्त भएको उपलब्धिलाई टेकर अगाडि बढ्न आफूहरु शान्ति प्रक्रियामा आएको प्रचण्डले स्पष्ट पारे । ‘यहाँ नआउँदा पेरु र फिलिपिन्समा जे स्थिति भयो, हाम्रो त्यही स्थिति हुनेवाला थियो। लिट्टेको जे भयो, त्यही हुने खतरा थियो’, उनले भने ।

कार्यक्रममा विप्लव समूहबाट रमण घिमिरे, आवास मन्सुरी, सुरेश कुमार यादव, विनोद केसी,  सुवास तिवारी, राजकुमार केसी खत्री, सन्दिपकुमार कार्की र  नमराज शर्मा लगायतका कार्यकर्ताहरु नेकपा प्रवेश गरेका छन् ।

हेर्नुहाेस् भिडियो :