पेट्रोलियम पाइपलाइन : वार्षिक ३ अर्ब बचत हुने, पाइपलाइन चितवनसम्मै ल्याइने

काठमाडौं । मुलुकको सबैभन्दा ठूलो इन्धन डिपो अमलेखगञ्जमा पेट्रोलियम पाइपलाइनबाट इन्धन आउने भएपछि वार्षिक ३ अर्ब रुपैयाँभन्दा बढी बचत हुने भएको छ ।

भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म पेट्रोलियम पदार्थ ढुवानीबापत खर्च हुने उक्त रकम बचत हुने भएको हो । पाइपलाइनको माध्यमबाट भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म सिधै पेट्रोल आइपुग्छ ।

हाललाई डिजेलमात्रै आयात गर्नेगरी निर्माण भएको पाइपलाइन अंग्रेजी पात्रो अनुसार आगामी महिना अगस्टमा नेपाल र भारतका प्रधानमन्त्रीद्वारा संयुक्त रूपमा उद्घाटन हुने आयल निगमले जानकारी दिएको छ ।

डिजेल मात्रै आयात गर्दा पनि वार्षिक ३ अर्बभन्दा बढी रुपैयाँ बचत हुने निगमले जानकारी दिएको छ ।

हाल मोतिहारीबाट अमलेखगञ्जसम्म दैनिक ४ हजार किलोलिटर (४० हजार लिटर) डिजेल आयात हुँदै आएको छ । मोतिहारीदेखि अमलेखगञ्जसम्मको ढुवानी रकम साढे २ रुपैयाँ प्रतिलिटर पर्छ ।

हालको अवस्थामा डिजेल आयात भइरहेमा र हालकै ढुवानी दरमा मासिक ३० करोड रुपैयाँ बचत हुने नेपाल आयल निगम अमलेखगञ्जका डिपो प्रमुख प्रदीप यादवले जानकारी दिए । उनका अनुसार हालकै अनुपातमा ढुवानी बापत हुने खर्च वार्षिक साढे ३ अर्ब रुपैयाँभन्दा बढी जोगिने छ । यद्यपि पछिल्लो समय पेट्रोलियम पदार्थको आयात बढ्दो क्रममा रहेको छ ।

पाइपलाइनबाट पेट्रोलियम ढुवानी गर्दा समयको बचत हुने र इन्धन चोरीको समस्या पनि नहुने डिपो प्रमुख यादवले बताए ।

नेपाल आयल निगमका अनुसार मोतीहारीदेखि अमलेखगञ्ज पाइपलाइनको लम्बाइ ६८ दशमलव ९ किलोमिटर रहको छ । उक्त पाइपको बाहिरी गोलाई १० दशमलव ७५ इञ्च रहेको छ । पाइपको भित्री गोलाई १० इञ्च रहेको निमगले जानकारी दिएको छ ।अमलेखगञ्ज डिपो प्रमुख यादवका अनुसार पाइपबाट प्रतिघण्टा २ सय ९४ किलोलिटर इन्धन आयात गर्न सकिने छ ।

पहिलो चरणमा डिजेलको मात्रै आयात गरिने र विस्तारै अन्य पेट्रोलियम पदार्थ पनि आयात गरिने निगमले जानकारी दिएको छ । भारतबाट पाइपलाइनमाफर्त् इन्धनको आयात हुनेभए पनि अन्य देशबाट समेत इन्धन आयात गर्न सकिने गरी भारतसँग सम्झौता गरिएको निगमका अधिकारीहरू बताउँछन् । नेपाल र भारतबीच इन्धनको कारोवार सम्बन्धमा प्रत्येक पाँच वर्षमा सम्झौता हुँदै आएको छ ।

मोतिहारीदेखि अमलेखगञ्जसम्म डिजेलको आयात गरी एक चरणमा परीक्षण भइसेकेको छ । परीक्षण सफल भएको भन्दै अगष्टभित्रै पाइपलाइनको औपचारिक उद्घाटन गरिने निगमका अधिकारीहरू बताउँछन्।

चितवनको लोथरसम्मै पाइपलाइन !

निगमले निकट भविष्यमा चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने योजना बनाएको छ । योजना अनुसार अमलेगञ्जदेखि चितवनसम्म रुट सर्भेको काम सम्पन्न भएको छ । ‘चितवनसम्म रुट सर्भे सम्पन्न भएको छ,’ निगमका एक अधिकारीले भने, ‘डिटेल अध्ययनका क्रममा रहेको छ । चितवनसम्म ६३ किलोमिटरमा पाइपलाइन विस्तार गरिने छ ।’

चितवनमा डिजेल र ग्यास दुवै पाइपलाइनबाटै पुर्‍याउने योजना रहेको र सोही अनुसार पाइपलाइन निर्माण गर्न भारतीय ओयल कर्पोरेसन (आईओसी)कै टोलीसँगको सहकार्यमा रूट सर्भे सकिएको निगमका अधिकारीहरू बताउँछन् ।

हाल अमलेखगञ्जमा १९ हजार ८ सय किलोलिटर डिजेल, १९ सय ३० किलोलिटर  पेट्रोल र १५ सय किलोलिटर मट्टितेलको भण्डारण क्षमता रहेको छ ।

हाललाई पाइपलाइनमार्फत् आयात हुने डिजेल ३९ सय किलोलिटरको एउटा ट्याङ्कीमा र ४१ सय किलोलिटरका २ वटा ट्याङ्कीमा डिजेल भण्डारण गरिँदै आएको छ । साभार lokantar बाट