अर्किड स्कूलमा ‘गणित र अंग्रेजी स्क्र्याबल अभिमुखीकरण

चितवन। ‘स्क्र्याबल एसोसिएसन अफ नेपाल (सान)’द्वारा राष्ट्रव्यापी रुपमा आयोजित ‘गणित र अंग्रेजी स्क्र्याबल अभिमुखीकरण’ अभियान अन्तर्गत चितवन शाखाले पनि उक्त कार्यक्रम सम्पन्न गरेको छ।

चौधवटा विद्यालयबाट ७३ जना विद्यार्थी तथा शिक्षकहरूको सकृय सहभागिता रहेको उक्त कार्यक्रम अर्किड स्कूलमा सम्पन्न भएको छ। पैंतीस जिल्लाका अधिकांश विद्यालयहरुमा अभ्यासमा रहेको ‘स्क्र्याबल’ एक प्रकारको शब्दजाल खेल हो जसले विद्यार्थीहरुलाई सिर्जनशील, तार्किक तथा एकाग्र बनाउन मद्दत गर्दछ। दुईवर्ष अघि मात्र ‘अमेरिकन कर्नर पोखरा’को सहजीकरणमा श्री केशव प्रसाद पराजुलीको संयोजकत्वमा गठित ‘स्क्र्याबल एसोसिएसन अफ नेपाल (सान)’द्वारा संचालित ‘स्क्र्याबल’को प्रभावकारितासँगै विद्यालयका विद्यार्थीमाझ लोकप्रिय पनि उत्तिकै हुँदै आएको छ।

कुनैपनि विद्यालयले आफ्ना विद्यार्थीहरुलाई ‘स्क्र्याबल’ मार्फत् उनीहरूको शब्दकोष वृद्धिमा सहयोग पुर्याउन सकिन्छ। ‘स्क्र्याबल’ मोबाइल एप्समा पनि उपलब्ध भएकोले जसले पनि फुर्सदको बेलामा खेल्न सकिन्छ। हिजोआज अनावश्यक रुपमा विभिन्न मोबाइल गेम एप्सप्रति व्यतित समयलाई सदुपयोग गरी कम्तीमा ‘स्क्रयाबल’ खेल खेल्ने हो भने कुनैपनि व्यक्तिको शब्दकोष वृद्धिमा यो खेल विशेष सहयोगी रहने कुरामा कसैको पनि विमति नहोला। प्रत्येक वर्ष अभिमुखीकरण गर्दै ‘जिल्ला स्तरीय च्याम्पियनसिप’ मार्फत् प्रत्येक सदस्य जिल्लाबाट चारजना विद्यार्थी प्रतिस्पर्धात्मक छनौट गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा पठाइने प्रावधान अनुरुप आगामी सेप्टेम्बरमा ‘जिल्ला स्तरीय स्क्र्याबल च्याम्पियनसिप’ अर्किड स्कूलमा सञ्चालन हुने कुरा चितवन जिल्ला स्क्र्याबल संयोजक ओमराज मैनालीले बताउनुभयो।

चितवनको पहिलो ‘स्क्य्राबल विद्यालय’ अर्किड स्कूलले विगत दुई वर्षदेखि स्क्र्याबलसँग सम्बन्धित अभिमुखीकरण तथा प्रतिस्पर्धात्मक कार्यक्रम सञ्चालन गर्ने गरेको छ। चितवन, नवलपरासी र बारा जिल्लाका विद्यालयहरुबाट सहभागी विद्यार्थी एवं शिक्षकहरुलाई ‘स्क्र्याबल एसोसिएसन अफ नेपाल (सान)’का संयोजक तथा अभिमुखीकरण कार्यक्रमका प्रमुख अतिथि केशव प्रसाद पराजुलीले प्रशिक्षण दिनुभएको थियो।

ब्रिटिश काउन्सिलका स्कूल प्रोजेक्ट अफिसर सुदर्शन सुबेदी, अमेरिकन कर्नर पोखराका सदस्यहरु ध्रुव थापा, सुशन पौडेल, विवेक भण्डारी, बारा जिल्ला प्रतिनिधि भोजराज सुबेदी, नवलपरासी जिल्ला संयोजक बिना कोइराला, गैंडाकोट इङ्गिलिस स्कूलका प्राचार्य हिरालाल अर्यालको आतिथ्यता रहेको थियो। चितवन जिल्ला संयोजक ओमराज मैनालीको संयोजकत्वमा सञ्चालित उक्त कार्यक्रम अर्किड स्कूलका प्राचार्य डा. खेम आचार्यको अध्यक्षतामा भएको थियो।