नेपाल अण्डा उत्पादक संघको अध्यक्षमा केसी निर्वाचित, किसानको हकहितमा निरन्तर लागिरहने प्रतिवद्धता

चितवन । नेपाल अण्डा उत्पादक संघको केन्द्रिय अध्यक्षमा शिवराम केसी निर्वाचित भएका छन् । यसअघि दुई पटक अध्यक्ष भईसकेका केसीले रघुनाथ भट्टलाई भारी मतान्तरले पराजित गर्दै तेश्रो कार्यकालका लागि पुन अध्यक्षमा निर्वा्चित भएका हुन् ।
विशेष साधारण सभा तथा अधिवेशनको आईतवार विहान सम्पन्न भएको अन्तिम मतपरिणाम अनुसार केसीले भट्टलाई २१४ मतले पराजितत गरेका हुन् । केसीले ३९७ मत पाउँदा भट्टले १८३ मत मात्र प्राप्त गरेका थिए । निर्वाचनमा कुल ५९० मत खसेकोमा ३ मत वदर भएको थियो ।


केसी र भट्टले छुट्टा छुट्टै समुह बनाएर निर्वाचनमा होमिएका थिए । ६ सदस्यका लागि १२ जनाको उम्मेदवारी थियो । सदस्यहरुमा किरण भुषण ओली ३८८ मत, राजकुमार श्रेष्ठले ३५९ मत, विनोद अधिकारीले ३१७ मत, भरत कार्कीले ३१० मत, प्रविण केसीले ३०७ र ललितबहादुर जिसीले २६६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।


निर्वा्चित केसी समुहलाई अण्डा उत्पादक साना किसानहरुको साथ थियो भने भट्टलाई सप्लायर्स लगायत केही सदस्यहरुको समर्थन प्रष्ट देखिन्थ्यो । निवर्तमान अध्यक्ष त्रिलोचन कडेंलको कार्यशैली प्रति असन्तुष्ठी जनाएका बहुमत किसानहरुले जेष्ठ २४ गते भएको साधारण सभाले केसीलाई नै समर्थन जनाउँदै अध्यक्ष बनाएका थिए । तर त्यसले वैधानिक नपाएपछि जिल्ला प्रशासन कार्यालय चितवनको निगरानी विशेष साधारण सभा तथा अधिवेशन गरिएको हो ।
कडेंल अध्यक्ष हुँदा किसानको हितमा नलागेको आरोप छ । अण्डाको मुल्यमा गिरावट आउँदा समेत उनले केही पहल नगरेको अधिकांश किसानले बताउँदै आएका छन् । अध्यक्षमा पुन निर्वा्चित शिवराम केसीले संघ भित्र देखिएको विवादलाई समाधान गर्दै किसानको हकहितमा निरन्तर लागिरहने प्रतिवद्धता जनाएका छन् ।