गोल्डेन पींक विद्यालय बास्केटबल प्रतियोगितामा ३० टिमले सहभागिता जनाउने

काठमाडौं । आठौँ गोल्डेन पींक अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा ३० टिमले सहभागिता जनाउने भएका छन् । बीहिबार पत्रकार सम्मेलन गरि आयोजक स्कुल गोल्डेन पींकका प्रिन्सिपल छत्रमणि राईले उक्त जानकारी दिए ।

पत्रकार सम्मेलनमा गोल्डेन पींकका प्रिन्सिपल राईले विद्यालयनै खेलकुदको मेरुदण्ड भएको बताए। उनले भने, “विद्यालयनै खेलकुदको मेरुदण्ड हो, जग बलियो भए मात्र घर बलियो हुन्छ,हामीले विद्यालयमा खेलकुदको गतिविधि बढाउन सानो प्रयास मात्र गरेका हौ , नेतृत्व राज्यले गर्नु पर्छ” ।

पत्रकार सम्मेलनमा काठमाडौं प्याब्सनका वरिष्ठ उपाध्यक्ष एवंम् नेपाल विद्यालय भलिबल कमिसनका अध्यक्ष राम केसीले राज्यले जुनियर खेलकुदमा लगानी गर्नु बताए । उनले भने, “प्रतिभावान् खेलाडी उत्पादन हुने थलो विद्यालय भनेकै विद्यालय नै हो, विद्यालय खेलकुद सशक्त भए अवश्य पनि राज्यको खेलकुद परिणामुखी हुन्छ । अनि मात्र स्कुल टु ओलम्पिकको सपना साकार हुन्छ” ।

चाबहिल सरस्वतीनगर स्थित गोल्डेन पीक हाईस्कुलको कोर्टमा साउन १० गतेदेखि सञ्चालन हुने प्रतियोगितामा जुनियर ब्वाइजतर्फ १२ टिम, सिनियर गल्र्सतर्फ ६ टिम र सिनियर ब्वाइजतर्फ १२ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

लिगकम नकाउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको गल्र्स टिमलाई दुई समूहमा विभाजन गरिएको छ भने ब्वाईजलाई चार समूहमा विभाजन गरिएको छ ।

जुनियर व्वाइजतर्फ ४ फिट १० इन्च सम्मको उचाइ निर्धारण गरिएको छ । प्रतियोगिता अन्तर्गत हुने सबै खेलमा नेपाल बास्केटबल सङ्घको प्राविधिक सहयोग रहनेछ ।

साउन १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले शिल्ड,मेडल प्राप्त गर्ने छन् । प्रतियोगिताको अनुमानित बजेट ३ लाख रहेको छ ।