लमजुङको दोर्दी बाढी अपडेट : दुईको परिचय खुल्यो, बेपत्ताको खोजी कार्य जारी

लमजुङ । लमजुङको दोर्दी खोलामा आएको बाढीले ज्यान गुमाएका ४ मध्ये २ को परिचय खुलेको छ। बाढीले बगाएर ल्याएका शव मध्ये पर्साका आन्दाजी २८ वर्षका शिवधन चौधरी र डडेलधुराका आन्दाजी ३४ वर्षका रमेश बुढा रहेको प्रहरीले जनाएको छ।

बाढीमा परेर ७ जना बेपत्ता रहेका छन्। ७ जना घाइते भएका छन्। अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय उद्धारमा खटिएका छन्। दोर्दी गाउँपालिका ६ ढोडेनी क्षेत्रमा बुधबार दिउँसो करिव ३ बजेतिर आएको ठुलो बाढीमा परेर ४ जनाको मृत्यु भएको हो।

बाढीका कारण जलविद्युत आयोजनाहरुका संरचनामा समेत क्षति भएको छ। मृत्यु भएका चारैजना दोर्दीखोलामा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाका कामदार रहेको प्रहरीले बताएको छ।

प्रमूख जिल्ला अधिकारी डा. डिजन भट्टराईका अनुसार ३ जनाको शव नौथर शेरा र १ जनाको शव कीर्तिपुर बेंसीमा फेला परेको हो। घाइते ६ जना माथिल्लो दोर्दी ‘ए’ कै कामदार रहेका छन्। उनीहरुलाई उपचारका लागि बेंसीसहर लगिएको छ।

माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको प्रवर्द्धक टिबर्टी इनर्जी कम्पनीका सञ्चालक रामबहादुर पाण्डेले बाढीले मानवीय र धनजनको क्षति पुराएको बताए।उनले भने ‘बाढी एक्कासी आयो। हामीले केही गर्न सकेनौं। यो नसोंचेको घटना भयो’।
उनका अनुसार दोर्दी गाउँपालिका ६ ढोडेनी क्षेत्रको मेमेपोखरी तल्लो क्षेत्रमा पहिरो गएर नदीको वहाव थुनिएको र एक्कासी बाढी आउँदा तल्लो क्षेत्रमा क्षति र्पुयाएको हुन सक्ने अनुमान छ।

दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङका अनुसार उद्धारकार्यमा सुरक्षाकर्मीसँगै जनप्रतिनिधि र स्थानीय खटेका छन्।उनले भने दोर्दीखोलामा आएको बाढीले जलविद्युत आयोजनाको निर्माणाधीन ड्याम क्षेत्रमा क्षति पुराएको छ। स्थानीयसमेत विस्थापित भएका छन्।