विप्लव समूहका काठमाडौं उपत्यका इन्चार्ज माइला लामा पक्राउ

काठमाडौं। सरकार र विप्लव समूहबीच वार्ताको चर्चा चलिरहेका बेला विप्लव समूहका नेता धमाधम पक्राउ पर्न थालेका छन्। यसैबीच शनिबार राति प्रहरीले विप्लव समूहका काठमाडौं उपत्यका इन्चार्ज माइला लामालाई पक्राउ गरेको छ।

प्रहरीले शनिबार राति राजधानीको काँडाघारीबाट माइला लामा र उनका एक कार्यकर्ता रेशम तामाङलाई पक्राउ गरेको  महानगरीय अपराध महाशाखाका प्रमुख सहकुल थापाले जानकारी दिए। ‘शनिबार राति काँडाघारीबाट माइला लामा र रेशम तामाङलाई पक्राउ गरिएको छ,’ एसएसपी थापाले डिसी नेपालसँग भने, ‘आफन्तको घरमा बसिरहेको अवस्थमा उनीहरुलाई पक्राउ गरिएको हो।’

माइला लामा काठमाडौंका नख्खु, अनामनगर, सुकेधारा लगायतका बिभिन्न स्थानमा भएका बम विस्फोटमा संलग्न रहेको प्रहरीको दाबी छ।
२०६४ सालको पहिलो संविधानसभा काठमाडौंबाट चुनाव लडे पनि पराजित भएका थिए।

लामा तत्कालीन माओवादीको जनसाँस्कृतिक महासंघको अध्यक्ष समेत थिए। तर, पार्टी बिभाजनपछि मोहन वैद्य हुँदै उनी विप्लव समूहमा लागेका थिए। उनकै नेतृत्वमा काठमाडौंमा चन्दा आतंक हुनुका साथै वम विस्फोटका घटना समेत भएको प्रहरीको दाबी छ।