‘कांग्रेसको नियमावली २०७६’ मा त्यस्तो के छ?, जसप्रति संस्थापन इतर पक्ष सशंकित बन्यो

काठमाडौं। घात  र अन्तरघातको सामना गर्दै आएको नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीमा बढ्दै गएको अराजकता नियन्त्रणका लागि अनुशासनमा कडाइ गर्ने नीति अवलम्बन गरेको छ। पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा पेस भएको ‘नेपाली कांग्रेसको नियमावली २०७६’ मा पार्टीभित्र बढ्दै गएको अराजकता नियन्त्रणका लागि अनुशासनमा कडाइ गर्ने नीति समेटिएको छ।

कांग्रेसले पार्टीभित्रको विवाद सार्वजनिकस्थलमा छताछुल्ल हुन नदिन पनि नेता–कार्यकर्ताहरूलाई आचारसंहितामार्फत अनुशासनमा बाँध्न खोजेको देखिन्छ। संस्थापन इतर समूहले भने लोकतान्त्रिक मूल्य र मान्यताविपरीत पार्टीलाई नियन्त्रणमुखी बनाउन खोजेको भन्दै आपत्ति जनाएको छ।

नियमावलीको परिच्छेद–९, धारा २६ को उपधारा २ (ङ) मा ‘पार्टीको प्रतिष्ठालाई हानि पुग्नेगरी सार्वजनिकस्थलमा पार्टीको आन्तरिक विवादको विषयलाई अमर्यादित चर्चाको विषय बनाउनु हुँदैन’ भनिएको छ। सोही उपधाराको (च) मा ‘पार्टीको मान, प्रतिष्ठा र मर्यादा अनुकूल आचरण गर्नु भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका सदस्यसमेतको कर्तव्य हुनेछ’ भनिएको छ।

नियमावलीको परिच्छेद–९ को धारा २६ मा आचारसंहिता शीर्षकमा पार्टीका सबै तहका सदस्यको आचरण र व्यवहारलाई स्वच्छ, मर्यादित र अनुशासित बनाई पार्टीको छविलाई लोकप्रिय र विश्वसनीय बनाइराख्न पार्टीका प्रत्येक सदस्यले क्रियाशील सदस्यता आवेदन फारममा उल्लिखित प्रतिवद्धताका अतिरिक्त नियमावलीमा व्यवस्था गरिएको आचारसंहिता पालना गर्नुपर्ने उल्लेख छ।

कांग्रेसका प्रत्येक सदस्यले नेपालको संविधान र कानुनप्रति प्रतिबद्ध भई जिम्मेवार नागरिकका रूपमा रहनुपर्नेदेखि सामाजिक व्यवहार निर्वाह गर्दा तडकभडक एवं फजुल खर्च गर्न नहुने व्यवस्थासहित आचारसंहिता बनाइएको छ।

आचारसंहितामा लाभको पदमा रहँदा पार्टीका सदस्यहरूले आफ्नो र परिवारका नाममा रहेको सम्पत्ति विवरण पार्टी कार्यालयमा बुझाउनदेखि केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले सम्पत्तिको स्रोत खुलाएर वार्षिक सम्पत्ति विवरण पेस गर्नुपर्ने उल्लेख छ।

नियमावलीको धारा २६ को उपधारा १ (घ) मा पार्टीको विधानबमोजिम अधिकार प्राप्त निकाय वा अधिकारीले गरेको निर्णय वा निर्देशनलाई पार्टीका प्रत्येक सदस्यले पालना गर्नुपर्ने भनिएको छ । सोही उपधारामा अगाडि भनिएको छ, ‘तर, यस व्यवस्थाले पार्टीको सिद्धान्त, नीति, निर्णय र कार्यशैलीलाई परिमार्जित गर्ने सद्नियतबाट तथा पार्टीलाई हर तरहबाट सुदृढ गर्ने मनशायले पार्टीको आन्तरिक बैठक वा बहसमा विचार व्यक्त गर्न बाधा पारेको मानिने छैन।’

केन्द्रीय समिति बैठकमा यही उपधारामा संस्थापन इतर समूहले असहमति जनाइरहेको स्रोतको भनाइ छ । जारी केन्द्रीय समिति बैठकमा अहिलेसम्म आ–आप्mनो धारणा राखिसकेका संस्थापन इतर समूहका नेताहरूले पार्टीलाई नियन्त्रणमुखी बनाउन नहुने तर्क गरेका छन् । लोकतान्त्रिक पार्टीको मूल्य र मान्यताविपरीत पार्टीलाई नियन्त्रणमुखी बनाउन खोजिएको भन्दै उनीहरूले संस्थापन पक्षको नियतमाथि प्रश्नसमेत उठाएका छन्।

कांग्रेसले पार्टीका विरुद्ध लगाइने झुठा आरोपहरूको खण्डनका लागि आफ्ना सदस्यहरूलाई बाध्यकारी नियम लागू गर्न खोजेको देखिन्छ । नियमावलीको धारा २६ को उपधारा ५ (घ) मा पार्टी्विरुद्ध लगाइने झुठा आरोपहरूका विरुद्ध सार्वजनिक रूपमा शान्तिपूर्ण एवं प्रभावकारी ढंगले खण्डन र प्रतिवाद गर्नुपर्ने भनिएको छ । उपधारा ६ मा ‘पार्टीका कुनै पनि सदस्यले आचारसंहिता उल्लंघन गरेमा अनुशासन उल्लंघन र कारबाहीको विषय बन्नेछ’ भनिएको छ ।

कांग्रेसले आचारसंहिता नै बनाएर नेता–कार्यकर्ताहरूलाई चाडपर्व, विवाह, व्रतबन्ध लगायतका समारोहमा भड्किलो प्रदर्शन गर्न रोक लगाउन खोजेको छ। उपधारा ३ (घ) मा भनिएको छ, ‘चाडपर्व, विवाह, व्रतबन्ध जस्ता सामाजिक व्यवहार निर्वाह गर्दा तडकभडक एवं फजुल खर्च गर्न हुँदैन र त्यस्ता कार्यलाई निरुत्साहित गर्नुपर्दछ।’

कांग्रेसले कसैको कुनै काममा सहयोग पुर्याएबापत आर्थिक लाभ लिन नपाइने, नियम–कानुनविपरीत एवं अनुचित ढंगले आर्थिक लाभ लिन नपाइने, कानुनबमोजिम कार्यसम्पादन गर्ने अधिकारीलाई कानुन विपरीतको काम गर्न र गराउन दबाब दिन नहुने, सरकारी वा सार्वजनिक वा पार्टीको चल–अचलसमेतका कुनै पनि सम्पत्ति दुरुपयोग गर्न नहुने व्यवस्था आचारसंहितामा समेटेको छ।

कांग्रेसले कसैको पनि चरित्रहत्या हुने र मर्यादा भंग हुने अभिव्यक्ति प्रकट गर्न पनि रोक लगाएको छ । विधान र नियमावलीले गरेको व्यवस्थाबमोजिम पार्टीलाई बुझाउनुपर्ने सहयोग रकम (लेवी) नियमित बुझाउनुपर्ने प्रावधानसमेत नियमावलीमा राखिएको छ ।

नियमावलीमा पार्टीले भाग लिने निर्वाचनमा सदस्यहरूले निर्वाह गर्नुपर्ने भूमिका पनि निर्धारण गरेको छ । नियमावलीको परिच्छेद– ९ धारा २६ को उपधारा ४ (क) मा ‘पार्टी र पार्टीको आधिकारिक उम्मेदवार वा पार्टीले समर्थन गरेको उम्मेदवारको सफलताका लागि दत्तचित्त भई आफ्नो क्षेत्रबाट प्रयत्नशील हुनुपर्दछ’ भनिएको छ।

यस्तै, उपधारा ४ (ख) मा ‘पार्टीले आधिकारिक रूपमा खडा गरेको वा समर्थन गरेको उम्मेदवारबाहेक अन्य पार्टी वा व्यक्तिलाई लाभ तथा आफ्नो पार्टीलाई हानि हुनेगरी कुनै किसिमको क्रियाकलाप गर्नु हुँदैन’ भनिएको छ।