
काठमाडाैँ । बिहीबारदेखि बाढी, पहिरो र डुवानमा परी मृत्यु हुनेको संख्या ६० पुगेको छ ।
प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको दिउँसो साढे ४ बजेसम्मको तथ्यांकअनुसार बाढी पहिरोमा परी ३६ पुरुष र २४ महिलाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार बाढी पहिरोमा परी ३८ जना घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बाढी पहिरोमा परेर २६ जना बेपत्ता छन् ।
अहिलेसम्म एक हजार ४४४ जनाको सकुशल उद्धार गरेको छ प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उनीहरुको सकुशल उद्धार गरेका हुन् ।
बाढी पहिरोमा परी प्रदेश एकमा सत्र, प्रदेश दुईमा सात, प्रदेश तीनमा बाह्र, प्रदेश पाँच र छमा दुईदुईको ज्यान गएको छ । यसैगरी, उपत्यकाको दुई जिल्ला काठमाडौं र ललितपुरमा आठ जनाको मृत्यु भएको छ ।
देश १ अन्तर्गत भोजपुरमा पाँच, ओखलढुंगामा चार, खोटाङमा तीन, झापामा दुई, सुनसरी, उदयपुर, इलाममा एकएक जनाको ज्यान गएको छ । प्रदेश २ अन्तर्गत धनुषा र बारामा दुईदुई तथा पर्सा, रौतहट, सिरहामा एकएक गरी सात जनाको मृत्यु भएको छ ।
प्रदेश ३ अन्तर्गत काभ्रे, मकवानपुरमा तीनतीन, सिन्धुली र धादिङमा दुईदुई तथा रामेछाप र चितवनमा एकएक जनाको मृत्यु भएको छ ।
यसैगरी, प्रदेश ५ को पाल्पा र दाङमा एकएक तथा प्रदेश ६ को डोल्पामा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौँ र ललितपुरमा एकएक जना बेपत्ता भएका छन ।
यस्तै, प्रदेश १ को पाँचथरमा, झापा, उदयपुर र सुनसरीमा एकएक तथा मोरङ र इलाममा तीन/तीन जना बेपत्ता भएका छन । प्रदेश २ को पर्सा, रौतहट, महोत्तरी, सिरहा र धनुषामा एक/एक जना बेपत्ता छन । यस्तै प्रदेश ३ को सिन्धुलीमा ६ जना र धादिङमा एकजना बेपत्ता भएको प्रहरीले जनाएको छ । यस्तै प्रदेश ६ को डोल्पास्थित कासिल खोलाले बगाएर ११ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बाढी पहिरोमा परी उपत्यकामा पाँच, प्रदेश १ मा आठ, प्रदेश ३ मा १२ जना घाइते भएका छन । प्रहरीका अनुसार बाढी पहिरोमा फसेका उपत्यकाबाट १९४ जना, प्रदेश १ बाट १२ जना, प्रदेश २ बाट ८२७ जना, प्रदेश ३ बाट ७१ जनाको उद्धार गरिएको छ ।