बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या ३० पुग्यो, १८ बेपत्ता

काठमाडौं । अविरल वर्षापछि मुलुकका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी अहिलेसम्म ३० जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १८ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।

बाढी पहिरोमा परी ललितपुरमा ५ जनाले ज्यान गुमाएका छन् भने काठमाडौं र खोटाङमा तीन/तीन, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा दुई/दुई तथा ओखलढङ्गा, पर्सा, रामेछाप, इलाम, झापा, सुनसरी, बारा र चितवनमा एक/एक गरी २८ जनाको ज्यान गएको छ । काठमाडौंमा ४२, उदयपुरमा १०, ललितपुरमा तीन, सिन्धुलीमा चार, सिराहमा दुई, भक्तपुर, सुनसरी र मकवानपुरमा एक/एक जना गरी १३३ जनाको सकुशल उद्धार गरिएको छ । बाढी पहिरोबाट ठूलो मात्रामा धनमालसमेत क्षति भएको छ ।

साथै मकवानपुरमा तीन, काभ्रेमा दुई तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन एक/एक जना गरी १२ जना घाइते भएका छन् । यसैगरी बाढी पहिरोमा परी  देशभर १८ जना बेपत्ता भएका छन् ।

बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण स्थानमा सुरक्षा निकाय  परिचालन गरी उद्धार तथा बेपत्ताको खोजी कार्य जारी प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक थापाले जानकारी दिए । विभिन्न स्थानमा भएको बाटो अवरोधसमेत हटाउने कार्य जारी रहेको छ ।