भारतको बैंगलोरमा भवन भासिँदा एकै परिवारका तीन नेपालीको मृत्यु

नयाँ दिल्ली । भारतको कर्नाटक राज्यको राजधानी बैंगलोरमा भवन भासिँदा तीन नेपालीको मृत्यु भएको छ । मंगलबार राति भएको घटनामा एकै परिवारका तीन नेपालीसहित ५ जनाको मृत्यु भएको हो ।

घटनामा ज्यान गुमाउने बाबु, आमा र छोरी बझाङको थलारा गाउँपालिका–२ बगाडाका स्थायी बासिन्दा हुन् । उनीहरू रोजगारीका लागि सपरिवार बैंगलोरमा थिए। मृतक खड्काका छोरा भने धनगढीमा छन् ।

बैंगलोरको शिवनगरस्थित ‘साइ आदि अम्बल’ अपार्टमेन्टमा सुरक्षागार्डका रुपमा काम गर्ने बगाडाका २८ वर्षीय नारायण खड्का, उनकी पत्नी २६ वर्षीया निरु र चार वर्षीया छोरी अनुष्काको अपार्टमेन्टको भुइँतला भासिँदा मृत्यु भएको खड्काका भाइ कमलले बताएका छन् ।

मृतक खड्का ६ वर्षदेखि उक्त अपार्टमेन्टमा काम गर्थे । पार्किङसहितको भुइँतलामा खड्का परिवारको बसोबास थियो । राति करिब २ बजेतिर भासिएको भवनबाट १२ घण्टापछि शव निकालिएको मृतकका परिवारले बताएका छन् ।

तीनैजनाको शव बओरिङ अस्पतालमा पोस्टमार्टम गरिएको छ । कमलका अनुसार खड्काका बाबुआमा घटनाबारे थाहा पाएलगत्तै अचेत छन् । उनीहरू पनि रोजगारीका क्रममा बैंगलोरमै थिए । मृतकका बाबुआमा पनि भत्किएको भवननजिकै अर्को भवनमा काम गर्थे ।

रोजगारीका क्रममा बैंगलोरमै रहेका मृतकका काका रामबहादुर खड्काले नजिकै निर्माणाधीन ६ तले भवन ढल्दा अर्को चारतले भवनलाई धक्का दिएको र उक्त भवनको भुइँतला भासिएको जानकारी दिए ।