प्रस्तावित चार राजदूतहरुको संसदीय सुनुवाई स्थगित

काठमाडौँ । प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाई स्थगित भएको छ । सरकारले गरेको सिफारिस प्रक्रिया समावेशी नभएको र गलत व्यक्ति चयन गरेको भन्दै सांसदहरु असन्तुष्ट बनेपछि बैठक स्थगित भएको हो । नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले सरकारले लगातार गलत मान्छे सिफारिस गरेको भन्दै प्रधानमन्त्रीलाई पनि सुनुवाइ समितिमा बोलाउनुपर्ने प्रस्ताव राख्नुभयो ।

सांसद प्रधानले प्रधानमन्त्रीलाई सुनुवाइमा नबोलाए अर्को बैठकमा उपस्थित नहुने चेतावनी दिएसँगै समिति सभापति लक्षमणलाल कर्णले प्रधानमन्त्रीलाई बोलाउने ÷नबोलाउने विषयमा थप छलफल गरेर निर्णय गर्ने भन्दै बैठक स्थगित गर्नुभयो ।

कांग्रेसको पछिल्लो असन्तुष्टि खासगरी अस्ट्रेलियाका लागि प्रस्तावित महेश दाहालको सिफारिसलाई लिएर हुँदै आएको छ । दाहालकी श्रीमती अमेरिकाको ‘पिआर होल्डर’ रहेको भन्दै समितिमा २ उजुरी परेका छन् । उजुरीमा दाहालकी पत्नी प्रभा दाहाल स्थायी रुपमै अमेरिका बसोबास गरेको दाबी गरिएको छ । राजदूतमा सिफारिस गरिएका मध्य बंगलादेशका लागि प्रस्तावित राजदुत डा. वंशीधर मिश्रको भने आंशिक सुनुवाई भएको जनाएको छ ।