चितवनको रत्ननगर नगरपालिकाको एक पछि अर्को उदाहरणीय काम,गोठ गोठमै पशुको उपचार

चितवन । चितवनको रत्ननगर नगरपालिकाले पशुपालनको व्यवसायिक विकासको लागि एक पछि अर्को उदाहरणीय काम गरेको छ । परम्परागत पशुपालनलाई विस्तापित गर्दै किसानलाई व्यवसायिक पशुपालनमा आर्क्षित गर्न सो नगरपालिकाले नयाँ नयाँ योजना ल्याएर काम गरिरहेको छ ।
सुत्केरी पशुलाई भत्ता दिएर रचनात्मक कामको सुरुवात गरेको सो नगरपालिकाले गोठमै पुगेर पशुको उपचार सुरु गरेको हो । रत्ननगर नगरपालिका पशु विकास शाखाले सुरु गरेको गोठमै पशुको उपचार सम्बन्धी घुम्ती शिविरको मेयर नारायण वनले उद्घाटन गरेका थिए ।
रत्ननगर १० बैरियामा रहेको मालिका पशुपालन र्फममा आयोजित उद्घाटन कार्यक्रममा मेयर वनले नगर भित्रका दुधालु गाईभैसीको सुरक्षा गर्ने दायित्व नगरपालिकाले लिएको बताए । नगरमा पशुपालनको विकासको लागि पशुहरुको सुरक्षा गर्न नगरपालिकाले गोठमै उपचारको व्यवस्था गरेको बताए । उनले विशेष गरी पशुहरुको बाझोपन निराकरणको लागि उपचार केन्द्रित हुने बताए । कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुरका प्रा.डा.भूमिनन्द देवकोटा,रत्ननगरका पशु विकास अधिकृत शालिग्राम पौडेल र अधिकृत गोविन्द पौडेलले किसानको गोठ गोठमै पुगेर गाईभैसीको उपचार गरेका छन ।
पहिलो चरणमा दुई दिनको लागि कार्यक्रम सञ्चा लन गरिएको छ । रत्ननगरमा साना ठुला गरी ५० वटा गाई र्फम रहेका छन । दुई दिनमा ५० वटा पशुको बाझोपनको उपचार र २०० भन्दा बढी गाईको अन्य उपचार गर्ने योजना रहेको पशु विकास अधिकृत पौडेलले बताए ।
वडा नं १० का वडाध्यक्ष केशव आचार्यको अध्यक्षतमा भएको कार्यक्रममा मालिका पशुपालन फर्मका सञ्चालक विष्णु पुरी,नगर स्तरीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष शिवकान्त पौडेल लगायतले मन्तव्य राखेका थिए । आगामी आर्थिक बर्षबाट सो नगरपालिकाले सुत्केरी पशुलाई दिने भत्ता रकम समेत बृद्धि गरेको छ ।