व्याकुल माइलाको शब्दमा रहेको ‘पग्ली बग्ने हिउँ नदी’ सार्वजनिक (भिडियाेसहित)

काठमाडाैं । पहिलो सोलु गायन स्टार प्रवेश राईको ‘पग्ली बग्ने हिउँ नदी’ बोलको गीत सार्वजनिक भएको छ । राष्ट्र गानका रचनाकार व्याकुल माइलाको शब्द रहेको उक्त गीतमा सङ्गीत जसिहाङ राईले गरेका छन् । सङ्गीत संयोजन भने नोर्बु शेर्पाको रहेको छ ।

गीतले समसामयिक नेपाली सामाजिक मनोविज्ञानको मर्मस्पर्शी चित्र बोकेको छ । हिमालयमा भन्दा बढी मनमा हिउँ हुनुले वर्तमान राज्यका डाडु पन्युधारीहरु जनताप्रति अनुदार बनेको प्रस्ट हुन्छ । हिमालले उच्च तहका मानिसलाई सङ्केत गरेको छ भने हिउँले ती व्यक्तिले जनतामा समृद्घि बाँड्न कञ्जुस्याँइ गरेको कुरा अभिव्यक्त गर्छ ।

भिडियाे:

वर्तमान समयमा मानिसहरूमा तनाव, फ्रष्ट्रेसन, पिर, चिन्ता बढ्दै गएको कुराको भाव पस्कँदै गीतले भन्छ, ‘सानै चोटमा दुख्छ मन कहाँ सक्नु रमाउन’ । सामाजिक सम्बन्धहरू पनि अनावश्यक तरिकाले संवेदनशील, स्वार्थ प्रेरित र मतलबी बन्दै गएको प्रसङ्गलाई पनि गीतले इङ्गित गरेको छ । समग्रमा गीतले सङ्कुचनको पाटोबाट मुक्त भई खुला र उदारताको आकाशमा फैलन सबैलाई आह्वान गर्दछ ।

गायक प्रवेश राई करिब दुई दशकदेखि र सङ्गीतकार जसिहाङ राई करिब तीन दशकदेखि गीत सङ्गीतकै क्षेत्रमा निरन्तर साधनारत रहँदै आएका छन् । गीति शब्द देखि लय, गायकी र नृत्यसम्मलाई हेर्दा गीत निकै नै मन छुने गरी तयार भएको सबैले सहजै महसुस गर्न सकिन्छ ।