पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनाको प्रमुख कारण : खराब माैसम

काठमाडौं । गत फागुनमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार हेलिकप्टर दुर्घटनाको प्रमुख कारणमा मौसमको खराबी नै निक्र्याैल गरिएको छ । ताप्लेजुङको पाथिभराबाट काठमाडौंका लागि उड्ने क्रममा एयर डाइनेस्टीको ‘९ एन–एएमआई–एसएस ३५० बी ३ इ’ हेलिकोप्टर २०७५ फागुन १५ मा दुर्घटनामा परेको थियो ।

दुर्घटनाको सरकारद्धारा गठित छानविन आयोगले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा समक्ष प्रारम्भिक प्रतिवेदन पेश गर्याे । मन्त्रालयका अनुसार प्रतिवेदनमा दुर्घटनाको मूख्य कारण खराब मौसम मानिएको हो ।

छानविन आयोगले उक्त दुर्घटनालाई ‘एक दूर्भाग्य’ हो भनेको छ ।

प्रतिवेदनअनुसार मन्त्री सवार हेलिकोप्टर पाथिभरामा ओर्लिएपछि मौसम झनै बिग्रियो । थोरै मौसम सफा हुने बितिकै झन् धेरै बिग्रन सक्छ भन्ने कुराको आधारमा पाइलटले हेलिकप्टर उडाए । उडेको १ मिनेटमै पुनः हिउँसहितको अकस्मात आएको हिमाली आँधिमा पर्दा पाइलटले सम्हाल्ने अवस्था नभएपछि हेलिकप्टर दुर्घटनामा प¥यो ।

पाइलटलाई उच्चपदस्थ अधिकारीको दवाव थिएन

मौसमबाहेक यस दुर्घटनामा मानवीय दवाव भने नदेखिएको मन्त्रालय स्रोतको भनाइ छ । टोलीलाई मौसमका कारण छिटो सुरक्षित स्थानमा फर्कने दवाव थियो । यद्यपि कुनै उच्च पदस्थ अधिकारीले पाइलटलाई हेलिकप्टर उडाउन दवाव नदिएको प्रतिवेदनमा उल्लेख छ ।

हेलिकोप्टरमा दुर्घटनाको कारण पत्ता लगाउने अन्य कुनै प्राविधिक रेकर्ड नहुने त्यसैले आयोगले प्रत्यक्षदर्शीलाई आधार मानेर यो प्रतिवेदन तयार पारेको हो । पाथीभराका पूजारी तथा स्थानीयबासीको बयान र त्यसलाई प्राविधिक रुपमा विश्लेषण गरी निष्कर्षमा पुगिएको आयोगको भनाई छ । दुर्घटना हुनुपूर्व कुनै प्राविधिक कारण फेला परेन ।

आयोगले छानविनका क्रममा भने प्राविधिक तथा व्यवस्थापन पक्षका पदाधिकारीसँगको छलफल, दुर्घटनास्थलको स्थलगत अध्ययन, मौसमको अवस्था विश्लेषण, चालकको मानसिक, सामाजिक, आर्थिक तथा पारिवारिक अवस्थाको विश्लेषणसमेत गरेको बताइएको छ ।

मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार प्रारम्भीक प्रतिवेदनलाई सम्बन्धित मुलुक तथा निकायमा ६० दिनको समय दिएर पठाउने प्रावधान रहेको छ । उक्त अवधिमा सरोकारवालाबाट राय सुझाव समेटेर विस्तृत अध्ययन सार्वजनिक हुनेछ ।

१५ फागुन दिउँसो ताप्लेजुङको फुङलिङ नगरपालिका–१०, सिस्नेभीरमा भएको दुर्घटनामा हेलिकोप्टरमा पर्यटनमन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।