पत्रकार महासङ्घ नवलपुर विरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा

कावासोती । नवलपुरमा कार्यरत पत्रकारहरुको विभिन्न पेशागत संगठनहरुले नेपाल पत्रकार महासंघ नवलपुर शाखा विरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन् ।
असार २ गते नेपाल पत्रकार महासंघ नवलपुर शाखालाई विभिन्न मागहरु राखी ७ दिने अल्टिमेटम सहित संयुक्त रुपमा ज्ञापन पत्र बुझाइएकोमा आफ्नो मागप्रति नेपाल पत्रकार महासंघ नवलपुर शाखाले वेवास्ता गरेको र संगठनका प्रमुख एवम् प्रतिनिधिहरुलाई वार्ता, छलफल र संवादमा नबोलाई एकपक्षीय ढंगले अगाडि बढेको कारण बाध्य भएर दोस्रो चरणको आन्दोलनमा होमिएको जनाइएको छ ।
प्रेस चौतारी, प्रेस सेन्टर, क्रान्तिकारी पत्रकार महासंघ, फोनिज नवलपुर, डब्लुडब्लुजे नवलपरासी, वातावरण पत्रकार मञ्चको संयुक्त वैठकले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको हो ।
घोषित कार्यक्रम अनुसार असार ११ गते माग र आन्दोलनका विषयमा नेपाल पत्रकार महासंघ नवलपुरको कार्यालय अगाडि कोण सभा गरेर जानकारी गराउने, असार १२ गतेः नेपाल पत्रकार महासंघ नवलपुरको कार्यालय अगाडि विहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा धर्ना दिने र असार १२ गतेसम्म पनि माग सुनुवाई नभए असार १३ गते नेपाल पत्रकार महासंघ नवलपुरको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गर्ने निर्णय भएको वैठकमा सहभागी प्रेस सेन्टर नवलपुरका अध्यक्ष अर्जुन अविरलले बताए । पत्रकार महासंघ नवलपुरले नयाँ सदस्यता शुल्क २ हजार रुपैया कायम गर्नुपर्ने, महासंघको नयाँ सदस्यता, शुद्धिकरण, नवीकरण, भवन निर्माण सहयोग जस्ता गम्भीर विषयमा जिल्लामा रहेका सबै पत्रकार संगठनहरुको प्रतिनिधिहरु समावेश गरी कार्यादल बनाउन माग गर्दै एक साता अघि ज्ञापन पत्र बुझाएका थिए ।
त्यसैगरी पत्रकार महासंघ नवलपुर शाखाले गत २०७५ पौष १४ गते आयोजना गरेको साधारण सभामा आर्थिक प्रतिवेदन पास हुन नसकेको कारणसहित हिसाबकिताव चुस्तदुरुस्त ढंगले सार्वजनिक गर्नुपर्ने, नेपाल पत्रकार महासंघ नवलपुर शाखाले विभिन्न संघसंस्था एवं सरकारी कार्यालयबाट विभिन्न वाहानामा रकम उठाएको तर त्यसको रेकर्ड कही कतै नराखिएकोले सो को सार्वजनिक गर्नुपर्ने, महासंघको कार्यालय भवन बनाउने स्थान कही कतै तय नभएको तर भवन निर्माण सहयोग भनी रकम उठाउने तर रकम कहाँ राखिएको भन्ने विषयमा खुलस्त पार्नुपर्ने लगायतका माग राख्दै पत्रकारहरु आन्दोलित हुँदै आएका छन् । त्यति मात्रै हैन गत जेठ ३१ र ३२ गते पोखरामा भएको नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशको साधारण सभामा समेत नवलपुर जिल्लामा कार्यसमितिमा रहेकाहरुलाई पनि पार्सद बनाएर लगिएको प्रती सङ्गठनहरुले आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । एकलौटी ढङ्गबाट आफ्नो मनोमानिमा महासङ्घको साधारण सदस्यसमेत नभएकालाई पनि पर्यवेक्षक बनाइएको र कार्यसमितिकै ब्याक्तिहरुलाई पार्सद बनाईनु लज्जास्पद भएको टिप्पणी गरेका छन । महासङ्घको यस्ता क्रियाकलापले नवलपुरकै पत्रकारहरुको बदनाम भएको समेत बैठकमा छलफल भएको थियो ।