भारतको राजस्थानमा आँधी–तुफानका कारण टेन्ट खस्दा १७ को मृत्यु, ७० भन्दा बढी घाइते

राजस्थान । भारतको राजस्थान स्थित बालोतराको जसोल कस्बेमा आँधीले टेन्ट खस्दा १७ जनाको मृत्यु भएको छ । एएनआईका अनुसार यस घटनामा अन्य ७० जना भन्दा बढी घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि नजदिकी अस्पताल लगिएको छ ।

घाइतेहरुमध्ये ४५ जनाको अवस्था गम्भीर भएको बताइएको छ । राम कथा सुन्नका लागि त्यहाँ सयौं मानिसहरु आएका थिए । यसै दौरानमा ठूलो आँधी–तुफान आयो, जसको कारण टेन्टले थेग्न नसकेर ढलेको थियो । यसै कारण १७ जनाको मृत्यु भएको हो ।

मृतकहरुको संख्या अझैँ बढ्ने सम्भावना भएको बताइएको छ । घटनास्थलबाट उद्धार कार्य जारी रहेको बताइएको छ । ढलेको टेन्ट भित्र अझैं पनि कयौं मानिसहरु पुरिएका आशंका गरिएको छ । ढलेको टेन्टभित्र फसेका मानिसहरुको उद्धार कार्य भइहरेको जनाइएको छ ।

निसास्सिएर र करेन्ट लागेर अधिकांशको मृत्यु भएको बताइएको छ । यस घटनालाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख ब्यक्त गरेका छन् । यता राजस्थानको मुख्य मन्त्री अशोक गहलोतले पनि दुःख ब्यक्त गरेका छन् ।