विप्लव समूहका नेता कुमार पौडेल प्रहरी मुठभेडमा मारिएको गृहमन्त्रीको दाबी

काठमाडौं । गत बिहीबार सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेही नदी छेउ जंगलमा प्रहरीको गोली लागेर मारिएका भनिएको विप्लव समूहका  सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको दोहोरो भीडन्तका क्रममा मृत्यु भएको गृहमन्त्री रामबहादुर थापाले दाबी गरेका छन् ।

प्रहरीले पौडेललाई पक्राउ गरेपछि हत्या गरेको भन्दै पूर्व गृहमन्त्रीसमेत रहेका नेकपा सांसद जनार्दन शर्माले दाबी गरेपछि गृहमन्त्री थापाले प्रहरी मुडभेडमा पौडेलको मृत्यु भएको दाबी गरेका हुन् ।

सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले पौडेलको मृत्यु प्रहरीसँगको मुठभेडमै भएको दाबी गरेका हुन् ।
गस्तीमा रहेको प्रहरी टोलीलाई पौडेलसहितको समूहले फायर गरेपछि प्रहरीले आत्मरक्षाको लागि  जवाफी फायर गर्दा पौडेलको मृत्यु भएको गृहमन्त्री थापाले जनाए ।

गृहमन्त्री थापाले घटनास्थलबाट एक थान कटुवा पेस्तोल र तीसमा लाग्ने गोली ६ थान बरामद भएको जनाए। ‘प्रहरीको गस्तीको सिलसिलमा नम्बर नलेखिएको मोटरसाइकलसहितका दुई वटा मोटरसाइकलमा आइरहेका चार जनाले प्रहरीलाई देख्नासाथ प्रहरीलाई लक्षित गरी प्रहरीलाई फायर गरेकाले प्रहरी टोलीले आत्मरक्षाकालागि जवाफी फायर गर्दा एक जनाको घटनास्थलमै मृत्यु भएको हो,’ गृहमन्त्री थापाले भने ।