पोल्ट्रीमा विदेशी लगानी घातकः अण्डा उत्पादक संघका नव निर्वाचित अध्यक्ष के.सी.

चितवन । नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम के.सी. ले पोल्ट्री क्षेत्रमा विदेशी लगानी हुन नहुने बताएका छन् । संघका अध्यक्ष के.सी. ले पोल्ट्री क्षेत्रमा विदेशी लगानी भित्र्याउन दिने हो भने स्वदेशमा लगानी गरिरहेका व्यवसायीहरु पलायन हुनसक्ने भएकाले यस्तो घातक कार्य नगर्न उनले सरकारसँग आग्रह गरेका छन् ।
नेपाल अण्डा उत्पादक संघ केन्द्रीय समितिले आज चितवनको भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संघका नवनिर्वाचित के.सी. ले आफू विदेशी लगानी रोक्नुपर्ने पक्षमा रहेको बताए । कुखुराजन्य उत्पादनमा नेपाल आत्मनिर्भर रहेकाले विदेशी लगानी रोकी यहाँका व्यवसायहरुलाई उचित वातावरण तयार गर्न सरकारसँग उनले अनुरोध समेत गरेका छन् ।


‘आफूले विदेशी लगानी रोक्नुपर्छ भनेर लागेपछि नेपाल पोल्ट्री महासंघका अध्यक्ष लगायतका व्यक्तिहरुले मलाई खेदो गर्नुभएको छ ।’ उनले भने । ‘मैले विदेशी लगानी रोकेर यहाँका व्यवसायीलाई प्रमोट गर्नुपर्छ भने, वहाँहरुलाई सो कुरा मन नपरेपछि म र मेरो कार्यसमिति नै अवैद्य हो भन्दै उहाँहरुले विज्ञप्ती जारी गर्नुभयो ।’ उनले भने ।
अण्डा उत्पादक ९० प्रतिशत भन्दा बढी किसानहरु सहभागी रहेको जेठ २४ गतेको संघको सौराहामा सम्पन्न १५औँ साधारण सभाबाट मलाई उहाँहरुले अध्यक्ष बनाउनुभयो, उनले भने । यो मेरो रहर थिएन, किसानहरुको अनुरोधमा आफू अध्यक्ष भएको उनले बताए । साथै उनले सौराहामा बनेको नवनिर्वाचित समिति वैधानिक भएको र यस अगाडिको समिति निवर्तमान भइसकेको समेत बताए ।

साथै सो पत्रकार सम्मेलनमा सौराहामा सम्पन्न १५औँ साधारण सभाको भिडियो रेकर्ड समेत देखाइएको थियो ।


के भयो सौराहाको १५औ साधारण सभामा ?
गत जेठ २४ गते सौराहामा अण्डा उत्पादक संघ केन्द्रीय समितिको साधारण सभा बोलाइएको थियो । सो साधारण सभामा किसानहरुको उल्लेख्य सहभागीता थियो । साधारण सभा हुनुपूर्व नै बन्द सत्र भन्दा बाहिरै संघका तत्कालिन अध्यक्ष त्रिलोचन कंडेलले किसानका पक्षमा काम नगरेको उनीहरुले आरोप लगाएका थिए । एकाथरी किसानहरु त्रिलोचन कंडेल नेतृत्वको समितिले काम गर्न नसकेको भनी उनलाई पदबाट हटाउन हस्ताक्षर संकलन गर्दै थिए ।


सो कार्यक्रममा हुलदंगा अथवा झैझगडा हुनसक्ने भन्दै इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी सन्तोष आचार्यको नेतृत्वमा प्रहरीहरु परिचालित थिए ।
समयमै कार्यक्रम सुरु नभएपछि संघका पदाधिकारीहरुको तत्काल बैठक बसी विभिन्न विषयमा सहमति गरी साधारण सभा सुरु भएको थियो । सभामा संघमा आवद्ध किसान गोविन्द शर्माले तत्कालिन कार्यसमितिको विरुद्धमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । अविश्वास प्रस्ताव दर्ता भएपछि संघका अध्यक्ष कंडेलले मन्तव्य व्यक्त गर्ने क्रममा बन्द सत्रमा आर्थिक प्रतिवेदन र प्रगति प्रतिवेदन प्रस्तुत गर्न जरुरी नरहेको भन्दै मौखिक रुपमा किसानहरु सामु राजीनामा दिएको घोषणा गरी आफू र आफ्नो समिति विघटन भएको घोषणा गरी हलबाट बाहिरिएका थिए । सौराहामा आयोजित १५औँ साधारण सभामा भेला भएका देशभरका किसानहरुले संघ विघटन भएर बस्न नसक्ने भन्दै किसानहरुलाई अफ्ठ्यारो परेको समयमा तत्काल समिति गठन गर्नुपर्ने उनीहरुले आवाज उठाए ।


संघको विधानको दफा २३ को उपदफा ३ अनुसार जेष्ठ सदस्यको अध्यक्षतामा कार्यक्रम गर्ने साधारण सभाले निर्णय पारित ग¥यो । सोही अनुसार संघका जेष्ठ सदस्य विष्णुहरि अधिकारीको अध्यक्षतामा सो १५औँ साधारण सभा सम्पन्न भयो । सो सभाले शिवराम के.सी.को नेतृत्वमा नयाँ समिति चयन ग¥यो । यस अगाडि पनि २ कार्यकाल अध्यक्ष भएका के.सी.ले किसानको पक्षमा राम्रो काम गरेको किसानहरु बताउँछन् । तत्कालिन अध्यक्ष कंडेलले किसानको हितमा काम नगरेको किसानहरुको आरोप छ ।
किसानसँग सहकार्यको सट्टा अन्य तत्वहरुसँग उनको साँठगाँठ हुन थालेपछि अहिले अण्डा उत्पादक किसान विचल्लीमा पर्नुपरेको उनीहरुको आरोप छ । अण्डाको बजार मूल्य खस्किएको छ । लागत मूल्य भन्दा पनि कममा विक्री गर्नुपरेको उनीहरुको दुःखेसो छ । आफूहरु टाट पल्टन लागेको समेत उनीहरुले बताए ।

के हो पोल्ट्री महासंघ ?

कुखुराजन्य उत्पादनसँग आवद्ध किसानहरुको विभिन्न संघहरुबाट प्रतिनिधित्व गरेका संघ मध्येबाट बनेको महासंघको नाम हो नेपाल पोल्ट्री महासंघ । अहिले सो संघको अध्यक्ष गुणचन्द्र विष्ट रहेका छन् । सो संघको २०७३ पौषबाट साधारण सभा समेत हुन सकेको छैन ।
सो संघका अध्यक्ष र पदाधिकारीहरु नै वैधानिक नरहेको किसानहरुको आरोप छ । आफू चाहि साधारण सभा र अधिवेशन गर्नु नपर्ने, विधान विपरीत कार्य गर्दै हिड्ने अनि किसानहरुको भेलाबाट निर्वाचित अण्डा उत्पादक संघ अवैधानिक भन्ने अधिकार उहाँहरुलाई छैन, संघका नवनिर्वाचित अध्यक्ष के.सी.ले भने ।
पोल्ट्री महासंघको विधानको परिच्छेद २ को दफा ४ को उपदफा ६ मा भएको व्यवस्था विपरीत संघलाई अगाडि बढाइएकोमा समेत उनले आश्चर्य व्यक्त गरे । साथै उनले अविनाश पोल्ट्रीले नेपाल अण्डा उत्पादक संघसँग गरेको प्रतिवद्धता अनुसार काम नगरेको भन्दै प्रतिवद्धता अनुसार काम गर्न अनुरोध गरे ।


सरकारले व्यवसायीको समस्या समाधान गर्न माग
नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम के.सी.ले पोल्ट्री व्यवसायमा देखापरेका विभिन्न समस्याहरु समाधान गर्न नेपाल सरकार, कृषि तथा पशुपंक्षी मन्त्रालय समक्ष जोडदार माग समेत गरेका छन् । समितिको तर्फबाट मागहरु गरेका छन् ।
पोल्ट्री व्यवसायमा संकटकाल घोषणा गर्नुपर्ने, देशभरका किसानहरुको पोल्ट्री व्यवसायमा बर्ड फ्लुबाट भएको क्षतिको राहत यथासक्य छिटो उपलब्ध गराउनुपर्ने, नेपाल राष्ट्र बैंकले पोल्ट्रीको क्षेत्रमा भएको यस्तो विषम परिस्थितिमा आवश्यकता अनुसार कर्जा प्रवाह गर्न नवीकरण प्रक्रिया सहज बनाउने र ब्याजदरमा समयनुकूल परिवर्तन गर्ने व्यवस्था मिलाउनुपनर्,े पोल्ट्री व्यवसायमा वैज्ञानिक तरिकाबाट अण्डा उत्पादन र कुखुराको मासुको मूल्य निर्धारण गरी बजारीकरण गर्ने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन् ।
नव निर्वाचित समितिको आजै पदस्थापन
नेपाल अण्डा उत्पादक संघ केन्द्रीय समितिका नवनिर्वाचित समितिहरुको आज पदस्थापन भएको छ । संघको कार्यालयमा अध्यक्ष सहित सबैलाई किसानहरुले स्वागत गर्दै पदस्थापन गरेका थिए । कार्यक्रममा संघका पूर्व अध्यक्ष विष्णु प्रसाद अधिकारीको समेत उपस्थिति रहेको थियो ।


संघको कार्यालयमै नवनिर्वाचित समितिको पहिलो बैठक समेत सम्पन्न भएको थियो । बैठकले किसानका समस्याहरु समाधान गर्न मन्त्रालय र सम्बन्धित निकायहरुलाई अनुरोध गर्ने, बर्ड फ्लुले क्षति भएका किसानहरुलाई तत्काल राहत उपलब्ध गराउन अनुरोध गर्ने र यस क्षेत्रको समस्या समाधान गर्न सम्बन्धित निकायमा नवनिर्वाचित समिति तत्काल जाने समेत निर्णय भएको अध्यक्ष के.सी.ले जानकारी दिए ।
साथै संघको विविध विषयमा चितवनका प्रहरी प्रमुख एसपी दान बहादुर मल्लसँग आजनै छलफल समेत भएको र भोली प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र प्रहरी प्रमुखको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा छलफल गर्ने कार्यक्रम रहेको समेत के.सी.ले जानकारी दिए ।