चितवनमा आज देखि तीन दिन विद्यालय बन्द

चितवन । चितवनमा अत्याधिक गर्मी बढेपछि छ स्थानीय तहले आज (सोमबार) देखि विद्यालय बन्दको घोषणा गरेका छन् ।
भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका र माडी नगरपालिकाले सूचना जारी गर्दै तीन दिनका लागि विद्यालय बन्दको घोषणा गरेको हो ।

जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनाले भने विद्यालय बन्द घोषणा गरेको छैन् । गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले कार्यपालिकाको बैठक बसेपछि विदा बारे निर्णय गरिने जानकारी दिए ।बाँकी सबै स्थानीय तहले नीजि तथा सामुदायिक विद्यालय बन्द गरेको हो । पछिल्लो केहीदिन यता चितवनमा अत्याधिक गर्मी बढेको छ । हिजो सबैभन्दा धेरै ३८ डिग्री तापक्रम पुगेको थियो । भरतपुर महानगर प्रमुख रेनु दाहालले बर्खे बिदाबाट मिलान हुने गरी विद्यालय बन्द गरिएको जानकारी दिईन् ।

तापक्रम बढेसँगै विद्यालय बन्द गर्नु परेको उनको भनाइ छ । सरोकारवालाको सुझाव र विद्यालयको वस्तुगत अवस्थाको मूल्याङ्कन गरी बिदाको निर्णय लिइएको दाहालले बताइन् । गर्मी बढेसँगै साना बालबालिका बिरामीसमेत पर्न थालेका छन् ।