भारतमा मस्तिष्क ज्वरोले ८० बालबालिकाको मृत्यु

नयाँ दिल्ली (एजेन्सी) । भारतको बिहारमा पछिल्ला दिनहरुमा मस्तिष्क ज्वरोले महामारीको रुप लिएको छ । शनिबार पनि यही रोगका कारण ४ जना बालबालिकाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । शनिबारसहित पछिल्ला १५ दिनमा बिहारमा मात्र ८० बालबालकिाको मृत्यु भएको जनाइएको छ ।

एक टिभी च्यानलसँग कुरा गर्दै राज्य स्वास्थ्यमन्त्री मंगल पाण्डेयले बालबालिकाको मृत्युमा सरकार वा प्रशासन जिम्मेवार नभएको भन्दै मौसम  जिम्मेवार रहेको बताएका छन् । उनले बालबालिकाको अवस्था नै नाजुक रहेको बताएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनले राज्य सरकारले उपचारका लागि पर्याप्त व्यवस्था गरेकोसमेत दाबी गरे ।

बिहारको मुजफ्फपुरमा ६७, समस्तीपुरमा ५, वैंशालीमा ५, मोतिहारीमा एक बालबालिकाको मृत्यु भएको छ । अन्य दुई बालबालिकाको मृत्यु कुन जिल्लामा भएको हो भन्नेबारे स्पष्ट नभएको जनाइएको छ ।

मुजफ्फपुरको एसकेएमसीएच र केजरीवाल अस्पतालमा पछिल्ला १५ दिनमा एईएसबाट ग्रसित ६७ बालबालिकाको मृत्यु भएको छ ।

सकेएमसीएचमा भर्ना भएका न्य ६ बालबालिकाको अवस्था गम्भीर छ । यहाँ ८० बालबालिकाको उपचार भइरहेको छ ।

केजरीवाल अस्पतालमा पनि ६ जना बालबालिकाको अवस्था नाजुक छ । यहाँ २५ जनाको उपचार भइरहेको छ । दुबै अस्पतालमा २८८ बालबालिकाको उपचार भएको छ ।

एसकेएमसीएचका शिशु रोग विभागाध्यक्ष डाक्टर गोपाल शंकर साहनीले ४० डिग्री सेल्सिसको तापक्रम र ७० देखि ८० प्रतिशतको आद्रताका कारण यो रोगले महामारीको रुप लिएको हो । विरामी बालबालिकामा कडा ज्वरो आउने, झट्का लाग्ने, हात खुट्टामा ऐठन हुने र बेहोस हुने लक्षण देखिएको छ ।

स्वास्थ्य विभागले यस रोगका लक्षण देखिँदासाथ उपचार गर्नुपर्ने बताएको छ । विभागको गाइडलाइनअनुसार रातीमा रातीमा भोकै सुत्ने बालबालिकामा जोखिम बढि हुन्छ । दुई घण्टाभित्र विरामीलाई अस्पताल पुरयाउनुपर्ने जनाइएको छ । यस रोगका कारण मस्तिष्कमा सोइलिंग हुन्छ ।