शनिबार र आइतबार ८४ हजारले दिए कोरियन भाषा परीक्षा

काठमाडौं । वैदेशिक रोजगारका लागि कोरिया जाने कामदारका लागि लिइने कोरियन भाषा परीक्षामा यो पटक ८४ हजार २ सय १५ जना सहभागि भएका छन् । रोजगार अनुमति प्रणाली ईपीएसले शनिबार र आइतबार दुई चरणमा परीक्षा लिएको हो ।

भाषा परीक्षाका लागि आवेदन दिएका मध्ये ८ हजार १४१ जना अनुपस्थित रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।  ९२ हजार ३५६ जनाले आवेदन भरेका थिए ।

शनिबार १५६ जना परीक्षार्थी निष्कासित तथा पक्राउ भए । अरुको नाममा परीक्षा दिन आएहरुलाई नियन्त्रणमा लिइयो भने नियम विपरित परीक्षामा सहभागीहरु निष्कासित भएको विभागले जनाएको छ ।

पक्राउ परेकामध्ये नक्कली परीक्षार्थीलाई सार्वजनिक मुद्दा चलाइनेछ । आगामी वर्षका लागि कोरियाले १० हजार ५० जना नेपाली कामदारको कोटा दिएको छ । परीक्षाको नतिजा नतिजा असार १३ गते प्रकाशित हुनेछ ।

यो परीक्षाबाट छानेर उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार नेपाली लैजाने तयारी छ ।

रोजगार अनुमति प्रणाली ईपीएस अन्तरगत सन् २०२० को कोरियन भाषा परीक्षाको आवेदन फारम चैत ८ गतेबाट खुला भएको थियो । रोजगारीका लागि आकर्षक गन्तव्य भएका कारण धेरै आवेदन पर्ने गरेको छ ।

नेपालबाट सन् २००८ देखि ईपीएसमार्फत कामदार कोरिया जान थालेका हुन् । आकर्षक कमाइ हुने भएकाले कोरिया जान खोज्ने युवाको संख्या उच्च छ ।