हतियार सहित ७ भारतीय पक्राउ

धनुषा । जनकपुरको बिहारकुण्ड मन्दिर लुटपाट गर्ने उद्देश्यले आएका सात भारतीय पक्राउ परेका छन् ।

समस्तीपुर, भारतका २६ वर्षीय रवि मल्लिकसहित सातलाई विभिन्न हतियारसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालय बिशेष व्युरो, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर, संघीय प्रहरी इकाई कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट संयुक्त रुपमा खटिएको प्रहरीले लुटेरालाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिने क्रममा प्रहरीलाई लक्षित गरी गोली फायर गर्दै भाग्न खोजेपश्वात प्रहरीले जवाफी फायर गर्दा रवि मल्लिक घाइते भएका छन् । प्रहरीको जवाफी कारबाहीमा दुबै तिघ्रा र दाँया खुट्टाको गोली गाँठोमा गोली लागेर घाइते भएका रवि मल्लिकको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

लुटेराको साथबाट पेस्तोल १ थान, गोली २ राउण्ड, म्याग्जिन १ थान, कटुवा पेस्तोल १ थान, एसएलआरको गोली २ राउण्ड, खुकुरी १ थान र मोटरसाइकल २ थान समेत बरामद भएको छ । मल्लिकसहित समस्तीपुरका २० वर्षीय सहील रजक, पटौरीका २४ वर्षीय अजित कुमार सिंह, भगवानपुरका २८ वर्षीय सुजित राय, महोदीनगरका ३० वर्षीय अमितकुमार सिंह, २० वर्षीय अमित कुमार यादव, मधुवनीका ३२ वर्षीय रंजितकुमार भगत र साहरघाटका ३८ वर्षीय पप्पु भनिने संजयकुमार सुमनलाई पक्राउ गरिएको उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो । बिहीबार प्रहरीले पत्रकार सम्मेलन गरी पक्राउ परेका सबै अभियुक्त सार्वजनिक गरेकाे हाे ।