चितवनको गोन्द्राङ ढाट प्रकरणः फरार भनिएका उबासंघ अध्यक्ष रेग्मी घरमै, प्रहरी मौन

चितवन । पूर्व पश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङमा रहेको सडक बोर्डको दस्तुर सङ्कलन केन्द्रमा गत शुक्रबार आगजनी र तोडफोडका मुख्य योजनाकार रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी घरमै रहेको खुलासा भएको छ ।

प्रहरीले फरार सुचीमा राखे पनि हालसम्म उनलाई पक्राउ गर्ने प्रयास सम्म गरेको छैन । उनी बकुलहरको आफ्नै मल पसलमा आज बिहानभर बसे पनि प्रहरीले नदेखे झै गरेको छ । राजनीतिक शक्तिको आडमा उनी खुलेआम हिडिरहनु हास्यास्पद रहेको बकुलहरबासी ले बताए ।

रेग्मीको खोजी कार्य जारी रहेको बताए पनि चितवन प्रहरी प्रबक्ता दुर्गा रेग्मीले पक्राउ बारे खुलेर बोल्न चाहेनन । उनले कार्यालय प्रमुखलाइ सम्पर्क गर्न बताए । प्रहरी प्रमुख सुशील सिंह राठाेरलाई पटक पटक फोन सम्पर्क गर्दा फोन उठेन ।

प्रहरीले पक्राउ गरेका तीन जना हिजो धरौटीमा रिहा भएका छन् । रत्ननगर नगरपालिका वडा नम्बर ९ का कुलप्रसाद लामिछाने,राप्ती नगरपालिका वडा नम्बर ८ का खिलप्रसाद घिमिरे र रेष्टुरेन्ट एण्ड बार एशोशिएसन सौराहाका अध्यक्ष गोकर्ण गिरी प्रतिव्यक्ती ५४ हजार धरौटीमा रिहा भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले पक्राउ परेका तीनै जनालाई धरौटीमा रिहा गरिएको जानकारी दिएका थिए  । उनले प्रहरीलाई पेट्रोल हाल्ने मुख्य व्यक्तीहरु भने फरार रहेको र खोजी भइरहेको बताएका थिए । प्रहरीले गिरीलाई पाँच दिन तथा लामिछाने र घिमिरेलाई तीन दिन हिरासतमा राखेर धरौटीमा छाडेको हो ।

घटनाका समयमा लिइएको भिडियोका आधारमा लामिछाने,घिमिरे र गिरीलाई पक्राउ गरिएको थियो । संकलन केन्द्रमा आगजनी, तोडफोडसँगै रकम लुटिएको भन्दै सडक दस्तुर सङ्कलनको ठेक्का पाएको ब्रिटानिक मौलाकालिका कन्ट्रक्सन प्रालीले गिरीसहित उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी, सरोज तिमिल्सिनालगायत बिरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको थियो । सो कम्पनीका अध्यक्ष अमृत भट्टचनले आगजनी, लुटपाट र तोडफोडका साथै करीब चार लाख रुपैयाँ समेत लुटिएकाले उजुरी गरेका थिए । प्रदेशसभा सदस्य कृष्ण खनालकै उपस्थितिमा भएको सो घटनामा प्रहरी सहायक निरीक्षक कल्पना खड्का जलेर गम्भीर घाइते भएकी छिन् ।

खड्काको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनाका विषयमा जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलिय छलफलमा घटनामा संलग्नलाई कारवाही,घाइतेको उपचार र ढाट सार्न पहल गर्ने सहमती भएको थियो । केन्द्र हटाउनुपर्ने माग गर्दै आएका पूर्वी चितवनका सर्वसाधारणले पेट्रोल छर्केर दस्तुर सङ्कलन केन्द्रमा आगजनीको प्रयास गरेका थिए ।