
काठमाडौं । नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधानप्रति आपत्ति जनाउँदै आएको महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो ।
सरकारले आफूहरुको माग संबोधनमा गम्भीरता नदेखाएको भन्दै आइतबार बसेको महासंघको केन्द्रीय समितिको बैठकले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । महासंघले मिडिया काउन्सिलसम्बन्धी विधेयक संसदमा पेश हुने दिन विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । महासंघको जेठ ६ गतेदेखि सुरु हुने दोस्रो चरणको आन्दोलनको कार्यक्रम जेठ २५ गतेसम्म चल्नेछ ।
त्यस्तै जेठ १६ गते प्रेस स्वतन्त्रता सेनानीसँग छलफल गर्ने, जेठ १८ देखि २० गतेसम्म महासंघको प्रतिष्ठान शाखा र एसोसिएटहरुको आयोजनामा विधेयकका कारण समाचार कक्षमा पर्ने प्रभावबारे छलफल चलाउने, जेठ २३ र २४ गते राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अभिकारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम गर्ने महासंघले जनाएको छ ।
जेठ २५ गते अपरान्ह ३ बजे काठमाडौंको वानेश्वरदेखि बबरमहलसम्म मानव हातेसाङ्लो बनाई बृहत प्रदर्शन गर्ने, काठमाडौं उपत्यकाबाहिर प्रदेश राजधानीमा पनि मानव हातेसाङ्लो बनाई प्रदर्शन गर्ने कार्यक्रम तय भएको महासचिव रमेश विष्टले जानकारी दिए ।