प्रेसकाे विधेयक फिर्ता नलिए पत्रकार महासंघको अन्तराष्ट्रिय मिसन बोलाउने चेतावनी

काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको अंकुश लगाउने काम बन्द नभए अन्तराष्ट्रिय मिडिया मिसन बोलाउने चेतावनी दिएको छ ।

संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकको प्रेस स्वतन्त्रता विरोधी प्रावधान बारे सनिबार रिपोर्टस क्लबमा आयोजित साक्षात्कारमा महासंघका महासचिव रमेश विष्टले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोध प्रावधानहरु नसच्चिए अन्तराष्ट्रिय मिडिया मिसन बोलाउने चेतावनी दिए । विधेयक कानुनको रुपमा आइसकेपछि नेपालमा स्वतन्त्र पत्रकारिता रहँदैन भन्नेमा महासंघ प्रस्ट रहेको भन्दै उनले सरकारको कदमविरुद्ध महासंघले आइतबार शुरु हुने गरी साताव्यापी आन्दोलन घोषणा गरेको जानकारी गराउदै आन्दोलनबाट नसच्चिए अन्तराष्ट्रिय समुदायलाई बोलाउने बताए ।

उनले भने, “आन्दोलनबाट सच्चिएन भने हामी नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको असल मित्रको रुपमा रहँदै आएको अन्तराष्ट्रिय समुदायलाई हामी गुर्हाछांै । हामी अन्तराष्ट्रिय नीतिगत मिडिया मिसन नेपालमा बोलाउँदैछौं । र अन्तराष्ट्रिय समुदायले भन्नुभयो  नेपालका कानुनहरु कस्ता बनिरहेका छन् ? यो नेपालको संविधान अनुसार छ कि छैन ? प्रेस स्वतन्त्रताको विश्वव्यापी मुल्य र मान्यता अनुरुप छ कि छैन ? स्वतन्त्र ढंगबाट अन्तराष्टिय समुदायले अब नेपालको मिडिया सम्बन्धी कानुनमा अनुगमन पर्यवेक्षण गरुन् भनी हामी आव्हान गर्दैछौं । अब हामी अन्तराष्ट्रिय मिडिया मिसन र संयुक्तराष्ट्र संघसम्मलाई हामी यो प्रक्रियामा सहभागी गराउँदैछांै ।”

सरकारले लोकतन्त्रको आवरणमा निरंकुशता लाद्न खोजेको टिप्पणी उनले गरे । विधेयकमा भएको व्यवस्थाअनुसार मिडिया काउन्सिलको पदाधिकारी नियुक्तिले मिडिया काउन्सिलको स्वायत्ततालाई रक्षा नगर्ने भन्दै उनले काउन्सिल गठन प्रक्रिया र नियतमा खराबी देखिएको टिप्पणी गरे । विधेयकमा गरिएको मनासिव क्षतिपुर्तिको व्यवस्थाले स्वनियन्त्रणलाई बढाई नेपालमा पत्रकारिताको मुल मर्म र चुरोलाई मार्ने भन्दै उनले सो व्यवस्था प्रति आपत्ती जनाए ।

स्वतन्त्र पत्रकारिताको आवश्यकता नै नभएजस्तो गरेर एक पछि अर्को प्रेसलाई नियन्त्रण गर्ने कानुन सरकारले ल्याइरहेको भन्दै उनले आपत्ती जनाए ।  तात्कालीन राजा ज्ञानेन्द्रको निरंकुशताविरुद्ध लड्न सजिलो भए पनि लोकतन्त्रको आवरणमा गरिने वर्तमान सरकारका गलत कामकाविरुद्ध लड्नु चुनौतिपूर्ण भएको भन्दै उनले प्रेस स्वतन्त्रताको खातिर एकजुट हुन सबैलाई आव्हान गरे ।

सरोकारवालाहरुसंग परामर्श र छलफल नै नगरि उनीहरुलाई छलेर विधेयक ल्याएबाट नै सरकारको नियत स्पष्ट भएको भन्दै उनले  लेख्न र बोल्न पाउने संवैधानिक हक सुनिश्चित गर्नका लागि फेरी एक पटक संचारकर्मीहरु सडक संघर्षमा उत्रनु परेको बताए ।

कार्यक्रममा प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले फेरी एकपटक प्रेस स्वतन्त्रताका लागि सडकमा उत्रनुपर्ने अवस्था आएको भन्दै सबैलाई सडक संघर्षमा ओर्लन आव्हान गरे । सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल सम्बन्धि विधेयकमा प्रेस र अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रावधान राखिएको भन्दै पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघले त्यसविरुद्धको आन्दोलन घोषणा गरिसकेको छ ।