चितवनको पदमपुरमा यही बैशाख २५ गते देखि २७ गते सम्म ‘भिमवली बाबा’ मेला हुने

चितवन । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ५ पदमपुरमा भिमवली बाबा मेला  हुने भएको छ । हरेक वर्ष बैशाख पञ्चमीमा लाग्ने मेलाको बारेमा आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको थियो । भिमवली बाबा मन्दिर संरक्षण समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा सो मेला यही बैशाख २५ गते देखि २७ गते सम्म सञ्चालन हुने जानकारी दिइएको थियो । साविक पदमपुरबाट स्थानान्तरण भएपछि हालको पदमपुरमा पनि पूर्ववत रुपमै मेला आयोजना गरिदै आएको मन्दिर संरक्षण समितिको अध्यक्ष नन्दप्रसाद भट्टराईले जानकारी दिए ।सोही स्थानमा २४ गते मंगलबार भिमवली बाबा र गढीमाईको नयाँ मूर्तिको प्राण प्रतिष्ठा गरिने छ भने २५ गतेबाट २७ गते सम्म मेला लाग्नेछ । मेलामा थारु हरुको संस्कृति, भेषभुषाकाअतिरिक्त चर्चित ठक्कर नाच समेत हरेक दिन प्रस्तुत गरिने आयोजकले जनाएका छन् । सो नाचको लागि रौतहटबाट २८ जनाको कलाकार टोली आउने समेत बताइएको छ । उनीहरुले महाभारत, रामायण सहितका विभिन्न धार्मिक एवम् संस्कृति झल्कने र मनोरञ्जनात्मक नृत्य तथा नाटकहरु प्रस्तुत गर्नेछन् ।सो मन्दिरमा हरेक वर्ष पूजाअर्चना सहित मेला लाग्ने र हरेक ५–५ वर्षमा भने पञ्चवली समेत चढाइदै आएको छ । मेला अवधिमा सोही परिसरमा करिव १ सय स्टलहरु समेत रहनेछन् । धार्मिक, वैदिक पर्यटकीय देवस्थलको रुपमा विकास हुँदै गएको सो मन्दिर आफ्नै १३ कठ्ठा जमिनमा निर्माण भएको छ । द्वापर युगमा पञ्च पाण्डवहरु आई बस्ने गरेको साविक पदमपुर (चितवन राष्ट्रिय निकुञ्ज भित्र) को सो स्थानमा स्थानीयहरुले पुजाअर्चना गर्दै आएकोमा उनीहरुले मन्दिर समेत निर्माण गरी मेला संचालन गर्दै आएका थिए । सो बस्ती २०५१ सालमा हालको पदमपुरमा स्थानान्तरण भएपछि पनि पूर्ववत अवस्थामा नै मन्दिर निर्माण गरी पुजा तथा मेला संचालन गर्दै आएको मेला व्यवस्थापन समितिका संयोजक जयचन्द्र प्रसाद चौधरीले जानकारी दिए । कार्यक्रममा संरक्षण समितिका उपाध्यक्ष नारायण बहादुर भट्टराई, सचिव भिष्म प्रसाद खनाल, सल्लाहकार बालसिंह चौधरी, भवन निर्माण समितिकाअध्यक्ष जगत बहादुर लामिछाने, सांस्कृतिक समितिका संयोजक बन्नु महतो, मन्दिरका पुजारी चन्द्रदेव गुरौ लगायतले आफ्ना भनाइहरु राखेका थिए ।