संसदको बजेट अधिवेशन आजबाट सुरु, प्रि–बजेटमा छलफल नहुने

काठमाडौँ । बजेट अधिवेशन भनेर चिनिने संघीय संसदको चौँथो अधिवेशन आजबाट सुरु हुँदैछ । संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाका दुबै बैठक आज ४ बजे बस्ने छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख ८ गते संघीय संसद सचिवालयलाई बैठक आह्वान गरेको पत्र पठाएकी थिइन्।

संसद बैठकको आव्हान र अन्त्य राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकको सुरुमा राष्ट्रपति कार्यालयबाट प्राप्त बैठक आह्वान सम्बन्धीको पत्र पढेर सुनाइन्छ । त्यसपछि दलीय प्रतिनिधित्वका आधारमा नेताहरुले शुभकामना मन्तव्य दिने प्रचलन छ।

यो अधिवेशनको सुरुमा प्रि–वजेट छलफल नहुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले २० गते (शुक्रबार) नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

यसअघि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुअघि नै प्रि–वजेट छलफल हुने र त्यसमा आएका सुझावलाई सरकारले समावेश गर्ने गरेको थियो। सरकारको नीति तथा कार्यक्रममा सरकारका योजना र कस्तो वजेट आउँछ भन्ने अनुमान लाउन सजिलो हुनेछ । जेष्ठ १५ गते सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेट सार्वजनिक गर्नेछ।

उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्री बजेट छलफल नगरी नीति तथा कार्यक्रम ल्याउन नदिने निर्णय गरेको छ। सिंहदरबारमा आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्री बजेट छलफल नगरी सरकारले जनप्रतिनिधि र संसद्लाई बाइपास गर्न खोजेको आरोप लगाउदै प्री बजेट छलफल नगरी नीति तथा कार्यक्रम ल्याउन नदिने निर्णय गरेको हो।

कांग्रेसले प्री बजेट छलफल नगरेर सरकार संसदीय मूल्य मान्यताको विरोधमा जान लागेको बताएको छ। प्री बजेट छलफल गरेर नीति तथा कार्यक्रम ल्याएपछि मात्रै बजेट आउनुपर्ने अडानमा कांग्रेस रहेको छ । काग्र्रेसले ओली सरकार निरंशुक बन्दै गएको आरोपसमेत लगाएको कांग्रेसले अब संसदमा विरोध गर्ने संकेत दिएको छ ।

यता सत्तारुढ दल नेकपा पनि आफ्नै रणनीतिमा छ । प्रतिपक्षको व्यवहार हेरेर सोहीअनुसार कडा रुपमा प्रस्तुत हुने सरकारको रणनीति छ।
बजेट प्रस्तुत भइसकेपछि मन्त्रालयगत वजेटका बारेमा बिनियोजन विधेयकमाथि छलफल हुनेछ । २०७४ फागुन २१ गते सुरु पहिलो अधिवेशन चैत्र २० गतेसम्म र २०७५ बैशाख २३ गतेबाट सुरु दोस्रो अधिवेशन असोज ११ गतेसम्म चलेको थियो ।

पौष ११ गतेबाट सुरु भएको तेस्रो अधिवेशन चैत्र १० गते राति १२ बजेबाट अन्त्य भएको थियो । अहिलेसम्म दुवै सभाको अधिवेशन एकैदिन सुरु भएर एकै दिन अन्त्य हुँदै आएको छ ।