चितवनको पुरानो सदरमुकाम उपरदाङ्गगढीमा राखियो सोलार प्यानल सहितको राष्ट्रिय झण्डा

चितवन । चितवन उद्योग संघको पहलमा पर्यटकीय दृष्टिकोण एवं ऐतिहासिक धरोहरको रुपमा विकसित हुँदै गएको उपरदाङ्गगढी (किल्ला) मा  हिजो आल्मुनियम पोल, सोलार प्यानल सहितको राष्ट्रिय झण्डा गाडिएको छ ।

९.५ मिटर अग्लो ग्याल्भनाइज उक्त पोलमा दुईवटा २०० वाटको सोलार प्यानल, १००० एच, १२ भोल्डको ब्याट्री चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेल सहित प्राविधिक टोलीको प्रत्यक्ष निगरानीमा जडान गरिएको हो । यसअघि २०७५ पौष १४ गते चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीको नेतृत्व र प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको प्रमुख आतिथ्यतामा उपरदाङ्गगढी (किल्ला) भित्र राष्ट्रिय झण्डाको झन्डोत्तोन समेत गरिएको थियो ।
नेपाल एकीकरणपछि सामरिक दृष्टिकोणले ‘अग्लो ठाउँ सुरक्षित हुने’ भन्दै पृथ्वीनारायण शाहका नाति तथा उपरदाङ्गढी क्षेत्रका तत्कालीन प्रशासक शत्रुभञ्जन शाहले वि.सं १८५७ मा गढीको स्थापना गरेको जानकारहरू बताउँछन् । १९६० सालसम्म सोही किल्लालाई चितवनको सदरमुकामका रूपमा पनि प्रयोग गरियो ।

चारैतिर भिरालो जमीन र बीचमा रहेको थुम्को गढीको विशेषता हो । यो गढी ६ सय ३९ वर्ग मिटर र समुद्री सतहबाट १ हजार २ सय ७५ मिटर उचाइमा रहेको छ । चौघेरामा रहेको ढुङ्गाले बनेको गढीको किल्ला प्रवेश गर्ने एक मात्र ढोका रहेको छ । यसमा लगाइएको ढुङ्गाको पर्खाल ६ मिटर अग्लो र ३ मिटर चौडा छ । किल्लाभित्र कोतघर, पानी जम्मा गर्नका लागि इनार र चौतर्फी सुरक्षा घेराका लागि बनाइएका नौओटा प्वाल छन् ।

उपरदाङगढी चितवनमा भए पनि यो नाम देशकै इतिहाससँग जोडिएको छ । उपरदाङगढी चितवनको पुरानो सदरमुकाम हो, जसको इतिहास नेपालको एकीकरणसँग जोडिएको छ ।