राष्ट्रपति भण्डारी ११ गते चीन जाने, चिनियाँ राष्ट्रपतिसहितको टोलीसँग द्विपक्षीय वार्ता गर्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी वैशाख ११ गते चीन भ्रमणमा जाँदै हुनुहुन्छ । अप्रिल २५ देखि बेइजिङमा बेल्ट एन्ड रोड इनिसियटिभ(बीआरआई)को दोस्रो शिखर सम्मेलनमा भाग लिन राष्ट्रपति चीन जान लाग्नु भएको हो ।

चीनको राजकीय भ्रमण गर्ने तयारी हुँदै गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालसँग सीमा जोडिएको तिब्बतको पनि भ्रमण गर्ने कार्यक्रम तय भएको छ । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले सान्सीको राजधानी सियान र तिब्बतको राजधानी ल्हासामा त्यहाँका प्रादेशिक नेताहरुसँग राष्ट्रपतिको भेटवार्ता हुने भएको शुक्रबार विज्ञप्ती जारी गर्दै परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैशाख ११ गतेदेखि १९सम्म हुने राष्ट्रपतिको चीन भ्रमण राजकीय नै हुने परराष्ट्र मन्त्रालयले पनि घोषणा गरेको छ भने चिनियाँ विदेशमन्त्री वाङ यीले चिनियाँ पत्रकारहरुसँग कुराकानीको क्रममा समेत उक्त कुरा बताउनु भएको हो ।

राष्ट्रपति भण्डारीको सम्मानमा चिनियाँ समकक्षी सी जिनपिङले रात्रिभोज पनि आयोजना गर्नुभएको छ । त्यसअघि राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपतिसहितको टोलीसँग द्विपक्षीय वार्ता गर्ने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले बताएको छ । चिनियाँ समकक्षी सीका अलावा राष्ट्रपति भण्डारीले अन्य चिनियाँ शीर्ष नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ । मन्त्रालयका अनुसार, राष्ट्रपति भण्डारीको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल लगायत अन्य उच्च सरकारी अधिकारी हुनेछन् ।

चीन भ्रमणमै रहेका बेला राष्ट्रपतिले चिनियाँ र नेपाली व्यापारीको बैठकलाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ भने अन्तराष्ट्रिय वागवानी प्रदर्शनीको उद्घाटन कार्यक्रममा सहभागी हुने मन्त्रालयले जनाएको छ । ११ बैशाखमा चीन भ्रमणका लागि प्रस्थान गर्ने राष्ट्रपति भण्डारी बेइजिङ पुग्नु अघि चीनको सान्सी प्रान्तको पनि भ्रमण गर्ने तालिका रहेको छ ।