युरोकप छनौट : विश्वकप उपविजेता क्रोएशिया हंगेरीसँग स्तब्ध, वेल्सले निकाल्यो जित

काठमाण्डौ । सन् २०१८ मा भएको रसिया विश्कपको विजेता टोली क्रोएशियाले पराजय भोगेको छ । युरोपकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता युरोकप छनौट खेलअन्तर्गत क्रोएशियाले हंगेरीसँग २–१ गोल अन्तरको हार भोगेको हो । आइतबार राति भएको सो खेलमा हंगेरीलाई जिताउन माटे पट्कैको गोल निर्णायक बन्यो । उनले १–१ गोलको बराबरीमा सकिँनै लागेको खेलमा गोल गर्दै हंगेरीलाई जित दिलाएका थिए ।

त्यसअघि हंगेरीको मैदानमा भएको उक्त खेलमा गोलको सुरुआत क्रोएशियाले गरेको थियो । उसका लागि एन्टे रेबिकले खेलको १३ औं मिनेटमा गोल गरेका थिए । तर, खेलको ३४ औं मिनेटमा हंगेरीका आदम स्जालाईले गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफ १–१ को बराबरी खेलेको हंगेरीले दोस्रो हाफमा एक गोल थप्यो । उसका लागि माटे पट्कैले खेलको ७० औं मिनेटमा गोल गर्दै २–१ गोल अन्तरको जित दिलाए ।

यससँगै हंगेरीले क्रोएशियासँग अंक बराबरी गरेको छ । समूह ‘ई’मा रहेको क्रोएशियासँग ३ अंक छ भने हंगेरीले पनि ३ अंक छ । यी दुवै टोलीले समान दुई–दुई खेल खेलेका छन् । पहिलो राउण्डको खेलमा क्रोएशियाले जित निकालेको थियो भने दोस्रो राउण्डमा हंगेरीले जित निकालेको हो । यस्तै गए रातिकै अर्को खेलमा वेल्सले जित निकालेको छ । उसले स्लोभाकियाविरुद्ध १–० गोल अन्तरको जित निकालेको हो । वेल्सकै मैदानमा भएको सो खेलमा घरेलु टोलीलाई जित दिलाउन डेनिएल जेम्सले निर्णायक गोल गरेका थिए ।