लगानी सम्मेलनमा ३८ देशका ६ सय बढि लगानीकर्ता सहभागी हुने

काठमाण्डौँ । चैत्र १५ गतेदेखि सुरु हुने लगानी सम्मेलनमा ३८ देशका ६ सय बढि लगानीकर्ता सहभागी हुने भएका छन् ।  शुक्रबारसम्मको अबस्थाले ६ सय ३० जनाको सहभागिता हुने पक्का भइसकेको लगानी बोर्डले जनाएको छ, यो संख्या अझै बढ्ने अनुमान बोर्डको छ । ८ सय भन्दा बढिलाई निम्तो पठाएकोमा ६सय ३० जनाले नाम दर्ता गराएका छन् भने यसमा नेपालीको संख्या १६० रहेको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् । त्यसदिन ८ जना वक्ताहरुले सम्मेलनलाई सम्बोधन गर्नेछन् ।

सम्मेलन भरी ४० विदेशी वक्ताहरुलाई समय दिइएको छ । उद्घाटनकै दिन अर्थमन्त्री डा. युवराज खतिवडा, म्यानमारका यूनियन मन्त्री उ ताउन टून, विश्व बैंकका उपाध्यक्ष हार्टविग सेफर, एशियाली विकास बैंकका उपाध्यक्ष शिक्षिन चेन, मेनहार्ड ग्रुपका कार्यकारी अध्यक्ष शाहाद नासिमका लागि समय छुट्टयाइएको छ । उद्घाटन पश्चात विभिन्न समूह बनाएर लगानीसम्बन्धी छलफल गर्ने कार्यक्रम छ । यस सत्रमा नेपालमा लगानीका सम्भावनाका विषयमा प्रस्तुति राखिनेछ ।