मंसिर २७, काठमाडौं । स‌ंवैधानिक परिषदबाट सर्वोच्च अदालतको २८ औं प्रधानन्यायाधीशमा सिफारिस हुँदा संसदीय सुनुवाइ विशेष समितिले अस्वीकृत गरेका दीपकराज जोशी २९ औं प्रधानन्यायाधीशका लागि चोलेन्द्र शम्शेर जबरासँगै सिफारिस भएका थिए ।

यसअघि २८ औं प्रधानन्यायाधीशमा पनि जोशीभन्दा ‘जुनियर’ ओमप्रकाश मिश्र प्रधानन्यायाधीश बनेका थिए । मिश्र ६५ वर्ष उमेरहदका कारण यही पुस १७ गते अनिवार्य अवकाशमा जाने भएपछि २९ औं प्रधानन्यायाधीशका लागि संवैधानिक परिषदमा जोशी र जबराको नाम सिफारिस भएको थियो । न्याय परिषदले सर्वोच्चको भावी प्रधानन्यायाधीशका दीपक राज जोशीको नाम पहिलो नम्बरमा सिफारिस गरेको थियो, कैफियतसहित ।  जोशीलाई संसदीय सुनुवाई विशेष समितिले नेपालको २८ औं प्रधानन्यायाधीश हुन अयोग्य रहेको भनेर गरेको निर्णयलाई कैफियतका रुपमा उल्लेखित गरिएको थियो ।

बिहीवार बसेको संवैधानिक परिषदको वैठकले कैफियतसहित जोशीको सट्टा उनीभन्दा ‘जुनियर’ न्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सुनुवाई गर्न सिफारिस ग¥यो । संवैधानिक परिषदको निर्णयानुसार अब संसदीय सुनुवाई विशेष समितिले भावी प्रधानन्यायाधीशका लागि चोलेन्द्रको नाममा सुनुवाइ गर्ने छ ।

सर्वोच्च अदालतमा ३ वर्ष न्यायाधीशका रुपमा काम गरेको व्यक्ति मात्रै प्रधानन्यायाधीश हुन पाउने संवैधानिक व्यवस्थाअनुसार न्याय परिषदले जोशी र चालेन्द्रको नाम सिफारिस गरेको थियो । यसहिसावले अब संसदीय सुनुवाई विशेष समितिलाई चोलेन्द्रको नाम अस्वीकृत गरी अर्को व्यक्तिलाई प्रधानन्यायाधीशमा छान्न पाउने विकल्प पनि छैन । अहिलेको अवस्थामा प्रधानन्यायाधीशका लागि जबरा निर्विकल्प ‘उम्मेदवार’ रहेको कानूनका विज्ञहरुको भनाइ छ ।

सर्वोच्चका जुनसुकै न्यायाधीशले न्यायपालिकाको सर्वोच्च पद प्रधानन्यायाधीश हुने चाहना राख्नु नराम्रो हैन । तर, न्यायाधीश दीपकराज जोशीले दुई–दुई पटक प्रधानन्यायाधीशमा सिफारिस हुँदा पनि ‘रिजेक्ट’ हुनु परेको छ । बिहीवार संवैधानिक परिषदको बैठकले चोलेन्द्र शम्शेर जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गर्दा जोशी आफ्नो निवासमै थिए ।

जवाफमा जोशीले ‘थाहा पाए’को प्रतिक्रिया दिए । अब तपाईं के गर्नुहुन्छ त ? लोकान्तरले जोशीलाई दोस्रो पश्न सोध्यो । जोशीले भने, ‘सर्वोच्चमा मेरो जति कार्यकाल बाँकी छ, न्यायाधीशका रुपमा काम गर्छु ।’नयाँ प्रधानन्यायाधीप्रति तपाईंको भूमिका र अपेक्षा के हुन्छ ? भन्ने लोकान्तरको प्रश्नमा जोशीले भने, ‘सर्वोच्चमा रहँदासम्म उहाँलाई पूर्णरुपले सहयोग गर्छु ।’सर्वोच्चका न्यायाधीशको उमेहरहद ६५ वर्ष हुने कानूनी व्यवस्था छ । जसअनुसार जोशी ११ असोज २०७६ सम्म सर्वोच्चमा न्यायाधीशको रुपमा काम गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस !