चितवन । नगर प्रहरी लखेट्ने र फुटपाथ व्यवसायी आँखा छलेर भाग्ने पुरानो खेल नारायणगढ बजारमा फेरि दोहोरिएको छ । स्थानीय सरकार आइसकेपछि बजार व्यवस्थापन गर्ने भन्दै भरतपुर महानगरपालिकाले फुटपाथ व्यवसायको व्यवस्थापन गरे पनि फुटपाथको समस्या समाधान हुन सकेको छैन,  चितवनपोष्ट  दैनिकमा खबर छ ।

गत साउन महिनादेखि बालकुमारी कन्या माविको जग्गामा फुटपाथ व्यवसायीहरुको व्यवस्थापन गरे पनि बजारमा फुटपाथ व्यवसायीको संख्या कम नहुँदा अझै पनि नगर प्रहरी र फुटपाथ व्यवसायीबीच लुकामारी जारी रहेको हो । नगर प्रहरी पनि कहिले नदेखेझैँ गर्छ त कहिले आक्रामक बन्छ । बुधबार दिउँसो १२ बजेतिर नारायणगढ बजारमा करिब एक घन्टाजति दुई समूहबीचमा लुकामारी चलिरह्यो ।

सहिदचोकैमा नगर प्रहरीले गाडी रोकेर फुटपाथ व्यवसायीलाई लखेट्दै गरेको दृश्य देख्दा लाग्थ्यो, पुलिसले चोरलाई लखेटिरहेछ ।

आखिर कहिलेसम्म चल्ने हो यो लुकामारी ? प्रश्न उब्जिन्छ । भरतपुर महानगरपालिकाले गत साउनदेखि नै बजार व्यवस्थापनका लागि बालकुमारी कन्याको जग्गामा फुटपाथ व्यवसायीको व्यवस्थापन गरेको छ । तर, उनीहरु भने अझै पनि सडकमै डोको राखेर व्यापार गर्न नगर प्रहरीसँग लुकामारी खेल्दै आएका छन् । उनीहरु नगर प्रहरीको आँखा छल्दै बजारका गल्ली र सडकको वारिपारि बसेर व्यापार गरिरहेका छन् ।

केही दिन खुला भएको बजारको सडक पेटीमा फेरि डोको राखेर व्यापार थालेपछि बजारको अवस्था पाँच महिनाअघिकै स्थितिमा फर्किएको छ । पैदलयात्रुहरु उस्तै सास्ती भोग्न बाध्य भएका छन् । महानगरलाई फुटपाथ व्यवसायीले नटेर्ने र महानगरले निगरानीलाई बलियो बनाउन नसक्दा समस्या दोहोरिएको भरतपुर ११, भोजाडकी वृन्दा गुरूङले बताइन् ।

भरतपुर महानगरपालिकाले भने फुटपाथ व्यवसायीले स्थानीय सरकारलाई अटेर गरिरहेको बताएको छ । ‘हामीले विकल्प दिँदा पनि अटेर गरेर बजार अस्तव्यस्त बनाउने काममात्रै भइरहेको छ’, मेयर रेनु दाहालले भनिन्, ‘सरकारलाई सहयोग गर्नु हरेक नागरिकको कर्तव्य हो, तर नागरिकबाटै सहयोग नहुँदा हाम्रो योजनाअनुसारको काम गर्न पाएका छैनौँ ।’

उनीहरु आफैँले अटेर गरेर सडकमा बस्दा डोको खोस्न बाध्य भएको मेयर दाहालले बताइन् । ‘कसैलाई नराम्रो सोच्नु र नराम्रो व्यवहार गर्नु हाम्रो मनले मान्दैन’, उनले भनिन्, ‘तर, बाध्य भएपछि जस्तोसुकै काम गर्न पनि तयार हुनुपर्ने बाध्यता हामीलाई छ ।’ कुनै पनि हालतमा सडकमा बसेर व्यापार गर्न नपाइने भन्दै महानगरपालिकाले अटेर गर्ने जोकोहीलाई कारबाही गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !