चितवन । कालिका नगरपालिका वडा नं. ६ स्थित क्लवचोकमा आजबाट ६ महिने निशुल्क सिलाइ कटाई तालिम शुरु गरिएको छ । नगरको वडा नं. ६ र ७ का २० जना महिलाहरुको सो तालिममा सहभागिता रहेको छ । कोमल हृदय प्रतिष्ठान काठमाडौंको सहयोगमा तालिम शुरु गरिएको हो ।

विपन्न एवम् पछाडी पारिएका महिलाहरुलाई निशुल्क तालिम दिई तालिम पश्चात् सहभागीहरुलाई आत्मनिर्भर बनाउन नयाँ सिलाइ मेशिनको समेत निशुल्क उपलब्ध गराइने प्रतिष्ठानका संस्थापक अध्यक्ष अर्जुन ढकालले जानकारी दिए ।

तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठ, वडा नं. ७ का वडा अध्यक्ष डिल्लीराम दवाडी, पृथ्वी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव लामा, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य पत्रकार शिशिर सिंखडा, संस्थाका कार्यक्रम संयोजक जगदिशचन्द्र पोखरेल, संस्थाका सदस्य शोभा ढकाल, संस्थाका चितवन को–अर्डिनेटर ईश्वर कुमार श्रेष्ठ, प्रशिक्षक चाँदनी चेपाङ लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाले सोही अवसरमा राष्ट्रिय मा.वि. सिद्धिका ३० जना र पृथ्वी मा.वि. का ४८ जना विद्यार्थीलाई खाजा कार्यक्रम अन्तर्गत चिउरा, दालमोठ, साबुन, ब्रस, मञ्जन, चकलेट समेत वितरण गरेको थियो ।

संस्थाले यस अगाडि पनि विभिन्न विपन्न वस्तीमा सिलाइ कटाई तालिम, विद्यार्थीहरुका लागि स्टेशनरी, झोला वितरण, न्यानो कपडा वितरण, विपन्न वस्तीमा झुल, ब्याङ्केट, खाद्यान्न लगायत सहयोगहरु गर्दै आएको छ । सो कार्यक्रम संस्थाका अध्यक्ष अर्जुन ढकालको अध्यक्षतामा भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस !