प्रचलित :

काठमाडौँ, १४ मङ्सिर ।

पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शुक्रबारदेखि पाँचौं चरणको खेल सञ्चालन हुँदैछ । सातबोदाटोस्थित एन्फा मैदानमा शुक्रबार हुने खेलमा उपाधि दाबेदार थ्रीस्टार क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

मनाङ मस्र्याङ्दी क्लबसँग २–१ गोलले पराजित भएपछि उपाधि यात्रामा केही धक्का लागेको थ्रीस्टार बाँकी खेल नगुमाउने अभियानमा छ । यसैगरी एपीएफलाई पनि लिगमा आफ्नो स्थान बलियो बनाउन थ्रीस्टार जस्तो टोलीलाई रोक्नुपर्ने चुनौती छ ।

यसअघि तीन जित र एक हार खेपेको थ्रीस्टार अहिले नौ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ । अघिल्ला चार खेलमा एक जित, एक बराबरी र दुई हारको नतिजा निकालेको एपीएफको चार अंक छ ।

त्यसैले तुलनात्मक रुपमा बलियो थ्रीस्टार एपीएफलाई हराउँदै उपाधि होड जारी राख्न चाहन्छ । एपीएफ पनि थ्रीस्टारलाई बलियो टक्कर दिँदै तालिकामा तीन अंक थप्ने तयारीमा छ । त्यसैले यी दुई टोलीबीचको भीडन्त रोचक हुने अनुमान गरिएको छ ।

एन्फा मैदानमै हुने अर्को खेलमा नेपाल पुलिस क्लब र एनआरटी भीड्दैछन् । लिगमा खराब नतिजाबाट गुज्रिएको एनआरटीको तुलनामा पुलिस बलियो देखिएको छ । पुलिसले अघिल्ला खेलमा मिश्रित नतिजा निकालेको छ ।

चार खेलमा दुई जित, एक बराबर र एक हारको निकालेको पुलिसको सात अंक छ । एनआरटीको एक अंक छ । अघिल्ला तीन खेल गुमाएको एनआरटीले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई बराबरीमा रोकेको थियो ।

प्रतिक्रिया दिनुहोस !