मंसिर १२, काठमाडौं । 
बार्सिलोनाका पूर्वप्रशिक्षक लुई भान हालले नेयमारलाई बार्सिलोनामा फर्काउनु सही कदम नहुने किनकि उनी टोलीमा मिलेर खेल्ने खेलाडी हैनन् भनेका छन् ।ब्राजिली खेलाडी नेयमार पेरिस सेन्ट जर्मानबाट बार्सिलोना फर्किने हल्ला निकै चलेको छ । उस्मान डेम्बेलेले बार्सिलोना छोड्न चाहेकोले पनि नेयमार फर्किने बाटो खुलेको बताइएको छ । परिस्थिति सही भएमा बार्सिलोनाले नेयमारलाई फर्काउने इच्छा देखाएको छ । तर भान हालले नेयमारलाई फेरि क्लबमा ल्याउनु गलत कदम हुने बताए ।‘बार्सिलोनाका लागि यो ठीक हुँदैन, तर त्यो मेरो मात्र धारणा हो,’ यी डच प्रशिक्षकले ला पोर्तेरिया दे बेतेभे पत्रिकालाई बताए ।

‘नेयमार अझै बच्चै छन् र उनले आफूलाई विकास गरिरहनुपर्छ । उनले पहिला त आफूलाई टोलीसँग मिलेर खेल्ने बानी बसाल्नुपर्छ । उनी एकदमै व्यक्तिवादी छन् । त्यसैले उनलाई फर्काउने निर्णय लिनुअघि बार्सिलोना चनाखो हुन जरूरी छ,’ भान हालले थपे । नेयमारले बार्सिलोनाका लागि १८६ खेलमा १०५ गोल गरे अनि २६० मिलियन डलरको कीर्तिमान रकममा पीएसजी गए । उनी फ्रान्सेली क्लबमा दोस्रो सीजन खेलिरहेका छन् । पहिलो सीजनमा घाइते भएर उनले धेरै खेल्न पाएनन् । क्लबले यस सीजनको लिग १ उपाधि जित्ने पक्का देखिएको छ । नेयमारले १४ लीग म्याचमा १० गोल र पाँच असिस्ट गरेका छन् ।

तर पेरिस सेन्ट जर्मानको च्याम्पियन्स लीग यात्रा चाहिँ सुमधुर छैन । बुधवार लिभरपूलविरुद्धको महत्त्वपूर्ण खेल क्लबले खेल्नैछ । उनीहरूले च्याम्पियन्स लीग उपाधि अहिलेसम्म जित्न सकेका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस !