प्रचलित :

पुराना संघर्षशील वाम नेता, वरिष्ठ पत्रकार र कूटनीतीज्ञ डा. कमल कोइरालाको केही दिन अगाडिको अभिव्यक्तिले झस्कायो, ‘नेकपा माले र नेकपा मार्क्सवादी एकीकरणपछि निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता गर्न म आफैं गएको थिएँ । एमाले र माओवादी केन्द्रको पार्टी एकतापछि नेकपा दर्ताको लागि साथीहरु चुनाव आयोगमा जाँदैछन्, म भने घरमै छु ।’

उहाँका शब्द यिनै हुन् ।
पार्टीहरु र नेतृत्वका कथनी र करनीबारे जनताको तहमा तमाम आशंका र अविश्वास हुँदाहुँदै पनि मुलुकमा एउटै कम्युनिस्ट केन्द्र हुनुपर्छ भन्ने विगत ७० वर्षदेखि सपना देख्ने सबै वाम प्रगतिशील तप्काले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकताको निम्ति दिलो ज्यानले माहोल बनाउने काम गरे र यसमा ऊर्जा थपे । कारण जगजाहेर छ । कम्युनिष्ट घोषणापत्रको एक ठाउँमा मार्क्स र एङ्गेल्सले मजदुर किसानहरुका समानान्तर कम्युनिष्ट पार्टी गठन हुने छैनन् भनेर स्पष्ट गरेपनि नेपालमा थोरै बोसो लाग्दाबित्तिकै शीर्ष नेता हुनै पर्ने महत्वाकांक्षा र कारण–अकारण पार्टी फुटाइहाल्ने चरित्रले गर्दा विगतमा ६ दर्जनको हाराहारीका कम्युनिष्ट नामका पार्टीको अस्तित्व र उपस्थिति भोग्न हामी विवश थियौं । परिणामतः वाम आन्दोलन कमजोर भयो । प्रतिक्रियावादी शक्ति सधैं निर्णायक स्थितिमा रहेकाले मुलुक र जनताको हुनुसम्म दुर्गती भयो । देशभक्त प्रगतिशील जनताको तहमा यसैले पनि वाम एकता एउटा मृगतृष्णा जस्तो बन्यो ।

आज यस्तो चीर प्रतिक्षित एकता सम्पन्न भएपछि एकीकृत पार्टीले इमान्दार भई ठूलो छाति बनाएर पहल लिने हो र साना पार्टीहरुले पनि संकिर्णता त्यागेर समयोचित तवरले रिसिप्रोकेट गर्ने हो भने अब ‘सबै वाम एक ठाम’को सपना सार्थक हुने दिशामा अवश्य अनुकूलता थपिएको छ ।

कमल कोइरालाको माथिको पीडामिश्रित अभिव्यक्तिका धेरै आयामहरु छन् । हिजो मनमोहन अधिकारी र सहाना प्रधानसँगै कमल कोइराला, भरतमोहन अधिकारी, गोविन्द ज्ञवाली र अरु पनि थुप्रै नेताहरु माले मार्क्सवादी एकताको सूत्रधार थिए । मनमोहन र सहाना बाहेक त्यो नेतृत्व पंक्ति अहिले पनि निजी जीवन र राजनीतिमा सक्रिय छ । तर यसपटक एकता प्रकृयामा उहाँहरुलाई सम्झनेसम्म प्रयत्न भएन । माओवादी धारमा पनि यस्तो ज्येष्ठ र अनुभवी नेतृत्व पंक्ति नभएको होइन तर एक प्रकारले दुवै तर्फका यस्ता मूल्यवान अनुभवको उपेक्षा जस्तै भयो ।

कमसे कम इतिहास बोक्ने यस्ता ज्येष्ठ र अनुभवले खारिएका नेताहरुलाई सल्लाहकार वा निरन्तर आमन्त्रितको हैसियतमा मात्र राख्दा पनि सम्मान हुन सक्दो हो ।

उता हालैको नेकपाको नवगठित केन्द्रीय कमिटी संरचनाले निश्चित रुपमा दुवैतर्फ प्रशस्त असन्तुष्टिलाई सतहमा ल्याएको छ । आकांक्षी धेरै भएकाले गुनासा हुनु त्यति अस्वाभाविक होइन र सबैलाई समेट्न सायद सम्भव थिएन पनि होला । तर कहीं कहीं योग्यता, इमानदारीता, निरन्तरता र योगदानको इतिहासलाई पूरै इन्कार गर्न खोजेको देखिन्छ, जो नाइन्साफी हो ।

प्रसंग हो लोककृष्ण भट्टराईको । कतिपयले उनलाई दरबारमा आयल निगमबाट नियमित रुपमा पुर्याइने थैली भेटको रकमलाई सार्वजनिक गरिदिएर दरबारको कोपभाजन मोल्न नडराउने निर्भिक नेताको रुपमा चिन्दछन् । खासमा उनी नेकपाका संस्थापक पुष्पलालका सहयोद्धा र सबै सजिलो अप्ठ्यारो परिस्थितिमा पुष्पलालको साथमा रहेर संघर्ष गरेका निष्ठावान पुराना वाम नेता हुन् । आजको विडम्वना यही हो कि पुष्पलाललाई हिजो गद्धार, संशोधनवादी र उनको संयुक्त जनआन्दोलनको कार्यनीतिलाई लिएर कांग्रेसको पुच्छर भनेर जेहाद आक्रमण गर्ने व्यक्ति र प्रवृत्ति नै आज उनै पुष्पलाललाई ट्रेडमार्क बनाएर गर्व गर्दैछन् । पुष्पलालका जीवन पर्यन्तका अनुयायीहरु लाखापाखा भएको अवस्था छ । भूमिगत अवस्थाबाट सार्वजनिक भएलगत्तै जसो बिराटनगरमा मदन भण्डारी ले अरु वामलाई धरहराबाट नियाल्नु पर्छ भन्ने अभिमान बोल्दा र स्वयं मनमोहन र सहानाले माले विश्वसनीय शक्ति होइन, सँगै जान सकिन्न भन्दाभन्दै पनि विमतिहरुमा सहजीकरण गरी पटकपटक भेटवार्ता छलफल र दुवैतर्फ विश्वासको वातावरण बनाउँदै अत्यन्त कुशलपूर्वक अन्ततः पार्टी एकतामा उतार्न क्याटलिष्टको भूमिका निभाउने गिनेचुने नेता भित्र पर्छन् लोककृष्ण भट्टराई । तर जुन मनोगत र बस्तुगत परिस्थितिमा माले मार्क्सवादी एकीकरण भयो, यसले पूर्व मालेलाई एमालेको नाममा अन्तर्राष्ट्रिय पहिचान दिलायो तर पूर्व मार्क्सवादीका एकाध शीर्ष नेतालाई औपचारिक नेतृत्वमा थापना गरे पनि सारा मार्क्सवादी नेता कार्यकर्तालाई संगठित रुपमा दरकिनार गर्दै नियतवश पलायन र विस्मृतीतर्फ धकेलिन बाध्य गरियो । फलतः मार्क्सवादीहरुको सांगठनिक धरातल त सिद्धियो नै प्रकारान्तरले उनीहरुको पूँजीको रुपमा रहेको पुष्पलालको बिराशत पनि अपहरणमा प‍र्यो ।

यस्तो नियोजित असहजतामा पनि इमान्दारीता, सकृयता र निरन्तरतामा रहेर एमालेलाई वैचारिक र बौद्धिक आयाम दिने सीमित व्यक्ति भित्र पर्छन् उनी । सायद चाप्लुसी, खुशामदी, स्तुतिगान र गुट निर्माणको अरुचि नै उनी र पूर्वमार्क्सवादीतर्फका सबैको आम कमजोरी थियो ।

धेरैलाई थाह छैन, भट्टराई २०४६ सालको जनआन्दोलनमा सर्वमान्य नेता गणेशमान सिंह, मदन भण्डारी एवम् जीवराज आश्रितबीचमा संयुक्त जनआन्दोलनको पृष्ठभूमि तयार गर्न देव नारायण महर्जनको घर सामाखुशीमा भेटघाट र वार्ताको संयोजन गर्ने र मोहनविक्रम सिंहसम्मलाई गोरखपुरबाट बोकेर ल्याई वाम मोर्चा गठनमा अग्रसरता लिने प्रमुख सूत्रधार पनि हुन् । उनी माओवादी जनयुद्धकालको अन्ततिर प्रचण्ड र गिरिजाप्रसाद कोइरालाबीच सम्पर्क सूत्र बनेको कारणले २१ दिनसम्म आँखामा पट्टि बाँधेर निर्घात यातना दिइएका र पटक पटक गरी ८ वर्ष जेल जीवन बिताएका वाम नेता हुन् । गतवर्ष पुष्पलाल स्मृति दिवसको अवसरमा एमाले पेशागत महासंघको कार्यक्रममा हालै सम्पन्न एमाले–माके पार्टी एकता हुनै पर्छ भन्ने पहिलो आवाज बुलन्द गर्दै कार्यपत्र पेश गर्ने व्यक्ति उनै थिए । त्यसयता एकताका लागि सबै तर्फबाट माहोल बनाउन उनले आफ्नो पक्षबाट कुनै कसर छोडेनन् ।

अहिले अचम्म के भयो भने नेकपा अण्डरलाइनको ४४१ सदस्यीय केन्द्रीय कमिटीमा उनी अटाउन सकेनन् जब कि उनैबाट दीक्षित हुने पहिलो र दोश्रो पुस्ताका कैयौं नयाँ अनुहार त्यहाँ समेटिएका छन् । निरपेक्ष दृष्टिमा उनको अनुभव र योगदानको उचाइ सामु अहिले केन्द्रीय समितिमा समेटिने मध्येको ठूलो संख्या साँच्चै पुड्को देखिन्छ । बरु अहिले नेतृत्वमा रहने ठूलो पंक्तिको पदबाट हटेको भोलिपल्ट पदचिह्न खोजेर फेला पर्ला नपर्ला तर उनी आफ्नो उज्यालो कर्मले गर्विलो पहिचान बनाएका एउटा बेदाग, निष्कलंक र मार्क्सवादको गहिराइबाट विश्लेषण गर्ने क्षमता भएका बौद्धिक नेता मध्येमा पर्छन् ।

यहाँनेर ओलीजीलाई ख्याल हुन नसकेको मुख्य कुरा के हो भने पार्टीको जम्बो केन्द्रीय समिति निर्माणमा उहाँहरुले जे जस्ता मापदण्ड अपनाउनु भयो त्यसमा लोककृष्ण सम्मको व्यक्तित्व अट्दैन भने त्यो मापदण्ड अवस्य त्रुटीपूर्ण हुनुपर्छ । कर्मशील हुनु नै कम्युनिष्ट स्वभाव हो र उनले यसबारे कहीं कतै गुनासो गरेको पनि सुन्नमा आएको छैन । यद्यपि, इतिहास र इतिहास निर्माताको अवमूल्यन गरेर पार्टीले गति लिन सक्दैन भन्नेमा कसैको विमती हुन सक्दैन । यस्ता सबै पक्षमा ख्याल गर्दै समयमै असन्तुष्टिहरुमा जायज मर्का परेको मामिलाको शीघ्र र यथोचित व्यवस्थापन नै वृहत्तर पार्टीको हितमा हुनेछ । यसमा विलम्ब हुनुहुन्न ।

जनताका लागि र जनताकै बीचबाट उठेको र उच्च नैतिक मूल्य कायम गर्ने भनिएका कम्युनिष्ट पार्टीबाटै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको पहिचान बनेको उच्चस्तरको बुद्धिजीवी नेतामाथि अन्याय हुनु दुःखद हो । अझ भन्नु पर्दा त्यत्रो लामो सूचीमा पूर्व मार्क्सवादी पक्षका एकजना पनि समेटिन नसकेको तथ्यले सबैलाई एकफेर घोत्लिन बाध्य पार्छ । यो असावधानी कि नियतको दोष वा प्रतिशोधको राजनीति ? के यसरी नै होला ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने लक्ष्य हासिल ?

पूर्व माले र पूर्व मार्क्सवादीको आग्रहबाट उहाँहरु आज २७ वर्षसम्म मुक्त हुन सक्नु भएको छैन भने उहाँले आजको एकता यात्राका माओवादी घटकमाथि हिजो मार्क्सवादी माथिको प्रकरण नै दोहोर्याउनु हुने छैन र समान र सम्मानजनक व्यवहार गर्नुहुन्छ भनेर त कसरी पत्याउनु र ?

प्रतिक्रिया दिनुहोस !