नेकपा एमाले र माओवादी केन्द्रको एकतासँगै नेपाली राजनीतिले जोरजबर्जस्त रुपमा फरक बाटो समाउने निश्चित छ ।

वैचारिक एवं सांगठनिक धरातल कमजोर भएको कांग्रेसले यही सुझबुझमा ५२ प्रतिशत मतको जगमा निर्माण भएको सरकार र संगठनलाई राजनीतिक धक्का दिने काम सामान्य रुपमा सम्भव छैन ।
कांग्रेसले आफ्नो जन्मको ७० वर्षपछि भन्ने बेला आएको छ-आखिर कांग्रेस कसको पार्टी हो ? परम्परागत प्रजातन्त्रभन्दा अगाडिको कांग्रेसको लक्ष्य कहाँसम्म हो ? नेहरु, लोहिया, आचार्य नरेन्द्रदेव, जयप्रकाश नारायण लगायतका भारतीय समाजवादी नेताहरुको प्रभावका कारण हिजो बीपीले समाजवाद भन्नुभएको थियो कि अबको बाटो समाजवाद नै हुन्छ ? यी र यस्ता प्रश्नहरुको सेरोफेरोमा जिल्ला सभापतिहरुको भेला होस् वा केन्द्रीय समिति, महासमिति जुनसुकै फोरममा किन नहोस् विहंगम बहस जरुरी छ ।

नेपाली जनतालाई रैतीबाट नागरिक बनाउनका निम्ति बलिदान, त्याग र संघर्षको जगमा कांग्रेसका संस्थापक नेता बी.पी कोइरालाले पार्टीको स्थापना गर्दै गर्दा यसको सुदूर भविश्य पनि देख्नुभएको थियो । तर, स्थापनाको ७ दशक पुग्न लाग्दा पार्टी आफ्नै अस्तित्व रक्षाका लागि संघर्षरत छ । त्यो पनि नेतृत्वको अदूरदर्शिताका कारण ।

स्थिति कतिसम्म भयावह भयो भने, पछिल्ला निर्वाचनमा हार बेहोर्नुपरेको विषयमा विमर्श गर्न बोलाइएको बैठकमा हारको जिम्मा लिन कोही तयार नभएपछि हारको विषय नै अलपत्र पर्‍यो । पार्टी नेतृत्वले हारको जिम्मा लिंदै भोलिका मितिमा आफू सच्चिने प्रतिवद्धतासहित जनताको बीचमा जाने अपेक्षा धेरैको थियो ।

नेतृत्व सच्चिन त कुरै छोडौं उल्टै बहुमतकै आडमा रामचन्द्र पौडेल/कृष्णप्रसाद सिटौला पक्षलाई पेलेरै जाने रणनीतिमा उत्रियो । फलतः पदाधिकारी मनोनयन सहमतिमा गर्न नेताहरुले दिएको सुझाव सभापति देउवाले ठाडै अस्वीकार गर्नुभयो ।

आफ्ना गुटका नेताहरुलाई सभापतिले पदाधिकारीमा मनोनित गरेपछि कांग्रेसभित्रको आन्तरिक द्वन्द्व सडकमा पोखिन पुग्यो । पार्टीका नेताहरु दैनिकजसो आफ्ना पक्षका भेलामा सक्रिय हुँदै गर्दा त्यसको प्रभाव भ्रातृ संगठनमा पनि पर्न गयो ।

गुटमात्रैको व्यवस्थापनमा लाग्ने पार्टी सभापति देखि परिवारमात्रको व्यवस्थापनमा रमाउने संस्थापन इतर पक्षका कारण दिनानुदिन काँग्रेस खुम्चिदै गएको छ । पार्टीको नेतृत्व गर्छु भन्नेले सदैव लचिलो गुणको प्रदर्शन गर्नुपर्छ ।

असन्तुष्ट पक्षलाई पनि मिलाएर लैजाने दायित्व सभापतिको हो । तर कांग्रेसको हकमा कुरा गर्दा सभापतिले उपसभापति, महामन्त्री, सह-महामन्त्री र प्रवक्ताको चयन गर्दा एकलौटी मात्रै गर्नुभएन, जनताबाट अस्विकृत व्यक्तिलाई ठूलो जिम्मेवारी सुम्पिनुभयो ।

यसको सिधा प्रभाव त्यस्ता कर्मठ कार्यकर्तामा पर्छ जो कांग्रेसबाहेक अन्य केही सोच्दैनन् । उनीहरुको मनोबल गिराएर सभापतिले कस्तो कांग्रेस निर्माण गर्न खोज्नुभएको हो ? यो कसैले बुझेको छैन ।

जुँगाको रेखी नबस्दै राजनीति गर्न शुरु गरेको बताउनु हुने देउवाले भन्दै आएको राजनीति भनेको आर्दशका खातिर हो कि केवल सत्ता प्राप्ति र गुट सञ्चालनका लागि भन्ने विषय समेत सतहमा आएको छ । केवल सत्ता प्राप्तिका लागि मात्रै हो भने नेपालमा केही समय सत्ता त तत्कालिन राजा ज्ञानेन्द्र शाहले पनि प्राप्त गरेका थिए । त्यही सत्ताले नेपालको राजतन्त्र समेतलाई खण्डित बनाइदियो ।

भनिन्छ-आर्दश ठम्याउन र पक्डन निकै गाह्रो चीज हो । त्यसको पालना त झनै कठीन छ । विश्वामित्रको आदर्श, साधुता र त्यसैका माध्यमद्वारा मुक्तिको प्राप्ति थियो । तर, जब विश्वामित्रका सामू मेनका प्रस्तुत भइन्, विश्वामित्रको जीवनभरको तप निमेषभरमै चकनाचुर भयो । राजनीतिमा पनि त्यस्ता घटना देखा पर्छन् ।

जुन पछिल्लो समय नेपाली कांग्रेसभित्र टड्कारो रुपमा देखा परेको छ । उहाँकै शब्दमा जुँघाको रेखी नबस्दै राजनीति गर्न थाल्नुभएका देउवाको राजनीतिक इतिहास काँग्रेसमा लामै छ । तर, सत्ता नामकी मेनका उहाँको अगाडि पटकपटक प्रस्तुत भइदिंदा आफ्नो राजनीतिक इतिहास नै दाउमा लगाएर पार्टीसमेत तोड्न पुग्नुभयो ।

त्यो घटना काँग्रेसको इतिहासमै दुर्भाग्यपूर्ण त छँदै थियो, कथित ज्योतिषीले सातौं पटक प्रधानमन्त्री बन्ने योग छ भनेकै भरमा पार्टीलाई विधि र विधान विपरीत हाँक्न खोज्दा काँग्रेस अहिले राष्ट्रिय राजनीतिको किनारामै पुग्न बाध्य भएको छ । तसर्थ भन्नैपर्ने हुन्छ- विश्वामित्रको झैं आस्था डगमगायो सभापति देउवाको कारण कांग्रेसमा ।

चुनाव दुई किसिमका हुने गर्छन् सत्ता र सिद्धान्तका लागि । पछिल्लो निर्वाचनले वाम गठबन्धनको लागि सुविधाजनक बहुमतका साथ सत्ता प्राप्त त गराइदियो, सिद्धान्ततः अबको सत्तारुढ दलको बाटो कस्तो हुन्छ हेर्नै पर्ने हुन्छ । तर, सत्तालाई सही राजमार्गमा डोर्‍याउने प्रतिपक्षले हो ।

प्रतिपक्ष आज उसको नेतृत्वका कारण डगमगाउने खतरा उत्तिकै छ । सिद्धान्तमा निष्ठापूर्वक अड्दा मात्र जनसमर्थन प्राप्त हुने हो । नेतृत्वकै कारण काँग्रेसमा त सिद्धान्त नै समाप्त पारिने हो कि भन्ने संशय व्याप्त छ । गेरुवा लगाएको देख्नासाथ सन्यासी सम्झियो, सत्ताका लागि पार्टी नै तोड्न उद्दत देउवालाई न महाधिवेशन प्रतिनिधिले समयमै चिन्न सके न त जनताद्वारा निर्वाचित सांसदले नै ।

हुनत देउवाद्वारा नै छानीछानी टिकट दिइएका र समानुपातिक पद्दतिद्वारा चयन गरिएका बहुमत सांसदबाट असल नेता छनोटको आशा नै निराशामा परिणत भयो, जसका कारण काँग्रेस थप कमजोर बन्दै गयो ।

वर्तमान सत्ता लरतरो ढंगले प्रस्तुत हुने सङ्केत देखिदैन । त्यसको उदाहरण बालकृष्ण ढुंगेलको कैद मिनाह प्रकरणलाई लिन सकिन्छ । आइन्स्टाइनले अणुबम मानव विकाससँगै नवनिर्माणका लागि आवीस्कार गरेका थिए । तर, प्रयोग गर्नेले हिरोसिमा र नागासाकीमा प्रयोग गरिदिंदा लाखौंको ज्यान गयो ।

हरेक कुरा प्रयोग गर्नेमा निर्भर गर्छ । सत्ताको प्रयोग प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिपक्षको प्रयोग गर्ने ठाउँमा शेरबहादुर देउवा हुनुहुन्छ । दुबैजनाले गर्ने सत्ता र प्रतिपक्षको प्रयोग भनेको आफ्ना विरोधीको हकमा ‘हिरोसिमा र नागासाकी’कै नियति देखिन्छ । यसले गणतन्त्रसम्मको भविष्यका बारेमा भोलिका दिनमा प्रश्न नउठ्ला भन्ने स्थिति देखिएन ।

लोकतान्त्रिक पद्दति चाहिएको कांग्रेसलाई हो । कांग्रेस कार्यकर्तालाई परिचालित नै गर्दैन । परिचालन गर्दा पनि गुटगत स्वार्थ हेर्ने गरिन्छ । कांग्रेसमा पछिल्लो समय मौलाउदै गएको प्रवृत्ति भनेको गणेश प्रदक्षिणामात्रै हो ।

पार्टीमा योगदान नदिएका परिवार र सत्य बोल्ने आँटै गर्न नसक्ने समूह पार्टी नेतृत्वको वरिपरी हावी हुँदा कांग्रेस क्षयीकरणको बाटोमा गएको हो । सभापति देउवाले आफू इतरकालाई पदाधिकारीमा मनोनित नगर्नुले पनि उहाँको अभिष्ट के हो भन्ने छर्लङ्ग भएको छ ।

तत्कालीन युवराज पारस शाहको अभ्रदताका कारण राजतन्त्रको अवसानमा मद्दत पुग्यो । छोराले पटकपटक धर्म परिवर्तन गरेकै कारण गान्धीसमेत दिक्क थिए । गरीब किसानमाथि गोली प्रहार गरेकै कारण भारतीय राष्ट्रपति राजेन्द्रप्रसादले दिक्क हुँदै आफ्नै छोरालाई पक्राउ गर्न आदेश दिएका थिए । आफ्नै भाइ राणासँग मिलेकै कारण शहीद शुक्रराज शास्त्री थुनामै रोएको इतिहास पढ्न पाइन्छ ।

यी र यस्ता दृष्टान्तबाट सिक्नुपर्ने हो कांग्रेस नेतृत्वले तर, नेतृत्वमाथि नै यिनै उदाहरणसँग मेल खाने शक्ति हावी भएको देखिंदा कांग्रेस झनै कमजोर बन्न पुगेको तथ्यबाट नेतृत्व अब भाग्ने ठाउँ छैन ।

हालै सम्पन्न केन्द्रीय समिति बैकठमा नेतृत्वका उपर नेताहरु तथ्यसहित आक्रामक रुपमा प्रस्तुत हुँदा समेत नेतृत्वमा सच्चिने चेत खुलेन । भारतलाई लोकतान्त्रिक संविधान तथा समायोचित ऐन कानून दिने अम्बेडकरको भारतको दलीय राजनीतिमा प्रभाव रहेन किनकी उनका श्रीमती र छोराले उनको इतिहासलाई नामेट पारिदिए । यो नजीरबाट देउवासमेत टाढा रहन सकेनन् ।

सोक्रेटस् एथेन्सको तत्कालीन अवस्थामा परिवर्तन ल्याउन चाहनु हुन्थ्यो । त्यसैले तत्कालीन राज्यपक्षले उहाँलाई मृत्युदण्डको सजायँ सुनायो । सोही समय केही व्यक्तिले उहाँलाई उम्काउने प्रस्ताव लैजाँदा उहाँले भन्नुभयो ‘प्रचलित कानून विपरीत सँगै नैतिकता समेतको विपरीत कार्य मबाट हुँदैन । म कुकर्मको सहारा लिएर उम्कन भाग्न चाहन्न । मृत्युलाई सहज रुवपमा स्वीर्कान चाहन्छु ।’

यो हो विधि पद्दति र कानूनसँगै नैतिकताको पालना । सम्भावित अधिनायकवादबाट मुलुकलाई जोगाउने दल काँग्रेस हो । तर, नेतृत्वले यी र यस्ता नैतिकताका नजीरबाट पाठ सिक्ने कि मेनकाका सामूको विश्वामित्र बन्ने प्रश्न टाढा छैन । सरकार र पार्टीको नेतृत्व गर्दा सम्झनलायक काम हुँदाहुँदै पनि सभापति देउवाकाविरुद्ध आरोपको अस्त्र प्रयोग भएका होइनन् ।

बहुमतका नाममा पेलेरै लैजाने मनसाय आफूभित्र रहेछ त हिजो किन कोइरालाहरुले बहुमतका नाममा पेले भनेर पार्टीनै फुटाएको ? यसको जवाफ कार्यकर्तासँगै लोकतन्त्रवादीहरु जान्न चाहन्छन् । कांग्रेसले आफ्नो लक्ष्य भेट्नका निम्ति पनि यी र यस्ता सवालमा विमर्श गर्न जरुरी छ ।

महासमिति बैठकका माध्यमबाट भोलिको कांग्रस बदलिन्छ र बदल्नुपर्छ भन्ने सन्देश सुदूर भविष्य बोकेका नेताले दिन जरुरी छ । कृष्णप्रसाद सिटौलादेखि गगनकुमार थापासम्मको नेतृत्व पार्टी र मुलुकले हेर्न पाएको छैन । प्रकाशमानसिंह देखि गुरुराज घिमिरे र प्रदीप पौडेलसम्मको आवश्यक्ता भोलिको कांग्रेस र मुलुकका लागि उत्तिकै छ ।

जीवन परियार, बद्री पाण्डे, कल्याण गुरुङ, उदयशम्शेर राणा, कमला पन्त, मीन विश्वकर्मा, सरिता प्रसाईं, धनराज गुरुङ, देवराज चालिसे, एनपी साउद, अमृत अर्याललगायत यो वा त्यो गुटमा विभाजित युवा नेताले बुझ्न जरुरी छ कांग्रेस रहेमात्र आफूले पनि भूमिका प्राप्त गर्ने हो ।

पद, पैसा र प्रतिष्ठा नामकी मेनका सामू समग्र कांग्रेस नेतृत्व जोगिन सक्दा मात्रै भोलिको कांग्रेसको नेतृत्व सबल हुने हो । अहिले पार्टी नेतृत्व गरिरहनु भएका देउवाले सबैलाई समेट्न सक्नु भएन । उहाँमा पार्टी फुटाउँदाकै जस्तो तुष देखियो ।

हृदयले समान ठानेर चलाउनु पर्ने पार्टी मस्तिष्कले चालबाजी गर्दै चलाउन पुग्नुभयो । जसका कारण पार्टीभित्र गम्भीर बेमेल देखा पर्दैछ । यसले भावनात्मक रुपमा पार्टीभित्र विभाजनको बिउ रोपिएको छ ।

अब सिटौलादेखि सिंह र थापादेखि पौडेलसम्मले विगतको कमी कमजोरीबाट सिक्दै नयाँ ढंगले पार्टी सचालन गर्ने अठोटका साथ युवा नेताहरुलाई साथै लिएर पार्टी नेतृत्व आफ्नो हातमा ल्याउने प्रयत्न गर्न जरुरी छ ।

मध्यरातमा यशोधरा र सिसु पुत्रलाई बिछ्यौनामा छाडेर सिद्धि र मुक्तिको खोजीमा बनवास जाँदा सिद्धार्थसँगै को नै थिए र ? तर, सिद्धि प्राप्तिपछि गौतम बुद्धसँग आज अनुयायी थुप्रै छन् ।

पार्टी वा मुलुक निर्माणका सन्दर्भमा नेता कहिलेकाहीँ एक्लो हुन सक्दछ । तर, उच्च मनोबलका साथ अगाडि बढ्दा भोलिका मितिमा पछ्याउनेहरु थुप्रै हुनेछन् । यसका लागि पद मोह भने त्याग्न जरुरी छ । रामको वनबास वा सिद्धार्थको दरबार त्याग कुनै पथभ्रष्ट थिएन । जसले आफ्नो मात्र नभइ जगतकै भलो गर्‍यो ।

अन्ततः अबको कांग्रेसले लोकतन्त्रको विकाससँगै आफ्नै नेतृत्वमा जारी गरिएको संविधानमा उल्लेख गरिएको समाजवादका आधारहरु तयार गर्नुपदर्छ । सँगै पार्टीभित्र वैचारिक, राजनीतिक र सांगठनिक आधारहरुको कार्यसूची समेत तय गर्न जरुरी छ ।

पार्टी नेतृत्व गुटमा फसेको जगजाहेर छ । पार्टीभित्र विचार पद्दति फस्टाएन । संगठनमा रचनात्मक विधिको रेखांकन हुन सकेन । अब यतातर्फ सोच्न ढिलो भइसकेको छ ।

कांग्रेसले आफूसँगै सिंगै नेपाली राजनीतिको पुनर्गठन गर्ने समाजवादी आन्दोलनको कार्यक्रम ल्याउन सकेन भने कांग्रेस केपी हठका कारण होइन, देउवा हठकै कारण इतिहासको दराजमा थान्को लाग्ने छ ।

(आचार्य नेपाली कांग्रेसका युवा नेता हुन्)

प्रतिक्रिया दिनुहोस !